काठमाडौँ- कोशी प्रदेश सरकार गठन विवादसम्बन्धी मुद्दाहेर्दा हेर्दै बुधवारका लागि पेसी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको मुद्दा हेर्दाहेर्दैमा परेको हो।
यो मुद्दामा बुधवार पनि बहस हुनेछ। बहस सकिएपछि फैसला आउनेछ। सर्वोच्च अदालतले यसअघि नै कोशी सरकारलाई दीर्घकालीन असर पर्ने कामकारबाही नगर्न आदेश दिएको छ।
कोशी सरकार गठनविरुद्ध निवर्तमा मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्। कार्कीका पक्षबाट वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, टीकाराम भट्टराई, महेश न्यौपाने, सुरेन्द्र भण्डारी र डा भीमार्जुन आचार्यलगायतले बहस गरेका छन्। कोशी सरकारका तर्फबाट महान्यायाधिवक्ता दिनमणि पोखरेलको नेतृत्वमा नायव महान्यायाधिवक्ता विश्वराज कोइरालालगायतले बहस गरे।
प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर संलग्न गरी नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार गठन गर्नु संविधानविपरीत भएको भन्दै सर्वोच्चमा रिट परेको हो।


