काठमाडौं– सत्तारुढ कांग्रेसको २ साउनदेखि जारी केन्द्रीय समिति बैठक आज पनि सानेपामा मुख्यालयमा बिहान ११ बजे बस्दै छ। सम्भवतः आज समापन हुने बैठकलाई सभापति शेरबहादुर देउवाले बेलुकी ४ बजे सम्बोधन गरेपछि समापन भएको घोषणा गर्ने मुख्यालय सानेपामा तयारी भइरहेको छ।
आज पार्टी सभापति देउवाले केन्द्रीय सदस्यबाट हालसम्म व्यक्त जिज्ञासाको छोटकरी समाधान हुने गरी सम्बोधन गर्दै छन्। मंगलबार सभापति देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारी बैठकले सम्भवतः आज समापन हुने केन्द्रीय समिति बैठकमा पारित गरिने निर्णयबारे मोटामोटी सहमति गरेको बुझिएको छ।
केन्द्रीय कार्यसमिति बैठकका निर्णयको मस्यौदा लेख्न पाँच नेतालाई जिम्मेवारी तोकिएको छ। पदाधिकारी बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता रमेश लेखक, प्रवक्ता प्रकाशशरण महत र प्रचार विभाग प्रमुख मीन विश्वकर्मालाई मस्यौदा लेखनको जिम्मेवारी दिएको हो।
मस्यौदा लेखनको जिम्मा पाएका नेताहरूबीच आज बिहान ११ बजे पार्टी कार्यालय सानेपा बैठक बस्दै छ। बैठकले महामन्त्री शर्माले पेस गरेका १० एजेन्डा र अर्का महामन्त्री थापाको सांगठनिक कार्यतालिका वरपर रहेर निर्णय लिनेछ। कांग्रेसमा चर्चामा रहेको नीति महाधिवेशनबारे भने हालसम्म सभापति देउवाले केही बोलेका छैनन्।


