काठमाडौँ- बाढीपहिरोलगायतका विपद्का घटनाबाट पीडितलाई तत्काल उद्धार तथा राहत प्रदान गर्ने कामलाई उच्च प्राथमिकतामा राख्न कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले निर्देशन दिएका छन्। बुधबार रक्षा मन्त्रालयमा आयोजित बैठकका क्रममा उनले यस्तो निर्देशन दिएका हुन्।
मन्त्री खड्काको अध्यक्षतामा भएको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्यसचिव वैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्माको उपस्थिति थियो। यस्तै रक्षासचिव, गृहसचिव, सुरक्षा निकायका प्रमुखहरु र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीसमेत उपस्थित थिए। बैठकमा विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको रक्षा मन्त्रालयले जानकारी दिएको छ।
छलफलका क्रममा माननीय कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्रीज्यू समक्ष सम्वन्धित अधिकारीहरुले देशका विभिन्न ठाँउमा गएको बाढी पहिरो, जनधनको क्षति र राजमार्ग अवरुद्धलगायतका विषयमा जानकारी गराएका थिए।
पीडितलाइ राहत वितरणका सम्बन्धमा कुनै बाधाअड्चन भएमा त्यसलाई तत्काल फुकाएर काम गर्ने व्यवस्था मिलाउन समेत कावा प्रधानमन्त्री खड्काको निर्देशन थियो।
देशैभरका सुरक्षा निकाय र सरकारी अधिकारीलाई विपद्को पूर्वानुमान गरी चनाखो हुन र एकीकृत समन्वय गरी काम गर्न उनको निर्देशन थियो।


