काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले व्यक्तिगत स्वार्थ बोकेकाहरूलाई पार्टीभित्र ठाउँ नभएको बताएका छन्। पार्टीमा बेथिति निम्त्याउन खोज्ने व्यक्तिहरूलाई आफूले राम्ररी चिनेको भन्दै चेतावनी दिएका उनले स्वार्थ बोकेकाहरुका लागि बजारमा छ्यापछ्याप्ती पार्टी भएकाले उनीहरूको ढोकासम्म आफैँले पुर्याइदिने बताएका हुन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले बेथितिविरूद्ध लड्छु भनेर रास्वपामा लाग्न सबैलाई आग्रह गरेका थिए। पार्टीमा बेथिति निम्त्याउनेहरूलाई चाँडो बिदा गर्न ठिक हुने बताएका थिए।
‘स्वार्थ लिएर जोडिनुभएको भए त्यस्ता पार्टीहरू बजारमा छ्यापछ्यापती छन्। तिनको ढोकासम्म म आफै पुर्याइदिउँला, रास्वपामा ठाउँ छैन,’ उनले भने।
रास्वपामा राम्रा मान्छे नजोडिए मिसन ०८४ सफल नहुने पनि बताए। सही उम्मेदवार उठाइएको अवस्थामा देशको कुनै पनि शक्तिले रास्वपालाई हराउन नसक्ने लामिछानेको दाबी छ।
‘त्यस्तो भयो भने, सदस्यता किन्न सक्ने पैसाको बिटो बोकेर हिँडेको मान्छे लिएर पार्टी बनाउन लाग्यौं भने भएको २१ सिट पनि जोगाउन सकिँदैनं,’ उनले भने, ‘हामी ०८४ सम्म आफू बन्ने अभियानमा छैनौं पार्टीलाई बनाउने हो।’


