काठमाडौं– गत ४ असारमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा गठन गरिएको समाजवादी मोर्चाले आज औपचारिक रुपमा विद्यार्थी मोर्चा घोषणा गर्ने तयारी छ। ललितपुरको च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चा घोषणा गरिन लागेको हो।
‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक कार्यक्रमका साथ विद्यार्थीको मोर्चा घोषणा हुन लागेको समाजवादी मोर्चाले बताएको छ।
बिहान साढे १० बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी कार्यक्रममा नेकपा एसका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव विप्लव सहभागी हुनेछन्।
समाजवादी मोर्चामा आबद्ध दलका विद्यार्थी संगठनलाई समेटेर समाजवादी विद्यार्थी मोर्चा गठन गरिन लागेको हो। घोषणा कार्यक्रमलाई प्रधानमन्त्री प्रचण्ड, नेकपा एसका अध्यक्ष नेता नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव विप्लवलगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ।


