काठमाडौँ- प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेट गरेका छन्। आइतबार बिहान प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका ओलीले मुख्यतया कोशी सरकार गठनका विषयमा चासो राखेका थिए।
ओलीले कोशीमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई नै पुनः मुख्यमन्त्री बनाउने गरी समर्थन गर्न माओवादीको साथ खोजेका थिए। तर प्रचण्डले भने यस विषयमा प्रष्ट जवाफ नदिएको स्रोतको दाबी छ। यद्यपि ओली-प्रचण्डबीच भेट भएपछि माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले समेत मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको सार्वजनिक गरेका छन्।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिका विषयमा समेत ओलीले प्रचण्डसँग चासो राखेका थिए। ओली-प्रचण्ड भेटमा कोशी सरकार गठनका साथै समसामयिक राजनीतिक परिस्थितिबारे पनि कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ।


