नेपाली चलचित्रको इतिहासमा घरेलु ‘बक्सअफिस’मा राम्रो कमाई गर्ने ‘कबड्डी’ शृङ्खलाका लेखक उपेन्द्र सुब्बा निर्देशक बनेका छन्। सुब्बाले आफू निर्देशित चलचित्र ‘जारी’ को ‘ट्रेलर’ सार्वजनिक गर्दै योजनागत रूपमा निर्देशक नबनेको बताए।
‘म राम्रो निर्देशक बन्छु भन्ने सोचले आएको होइन। राम्रो र फरक कथा भन्छु भन्ने योजनाअनुरूप आएको हुँ,’ सुब्बाले भने, ‘नयाँ पुस्तासम्म यो कथा ल्याउनुपर्छ भनेर चलचित्र नै तयार गरेको हुँ।’ उनले ‘जारी’ फिल्ममा लिम्बू समुदायमा रहेको जारी प्रथाको कथावस्तुमार्फत वैवाहिक सम्बन्ध, महिला स्वतन्त्रता र दाम्पत्य जीवनको आयामलाई चित्रण गरिएको बताए।
अभिनेता दयाहाङ राईले मन परेको कथामा भूमिका निर्वाह गरेको बताए। ‘यसले श्रीमानसँगै श्रीमतीको स्वतन्त्रतालाई समेटेको छ। जीवनसाथी छनोट गर्ने महिलाको अधिकारलाई पनि हामीले यहाँ देखाएका छौं,’ राईले भने।
अभिनेत्री मिरुना मगरले आफ्नी आमा लिम्बू भएकाले लिम्बू समुदायप्रति लगाव रहेको बताइन्। ‘मैले सानैदेखि देख्दै आएको कुराहरू नै चलचित्रमा गरेँ। यो हाम्रै समाजको कथा हो,’ मगरले भनिन्। चलचित्रलाई ‘कबड्डी ४’ का निर्देशक रामबाबु गुरुङले निर्माण गरेका हुन्। चलचित्र ‘जारी’ आउँदो वैशाख १ मा प्रदर्शन हुँदैछ।



