काठमाडौँ- संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिस गर्नका लागि बसेको परिषद्को बैठक निष्कर्षविहीन भएको हो।
‘प्रधानन्यायाधीश सिफारिस गर्नेसम्बन्धी एजेन्डा थियो। हामीले छलफल गर्यौं। थप छलफल गर्नुपर्ने देखिएकाले १८ गते ५ बजे फेरि बस्ने गरी बैठक स्थगित भएको छ,’ बैठकपछि बाहिरिने क्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने।
उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ। संविधानअनुसार त्यसको एक महिनाअघि नै प्रधानन्यायाधीश सिफारिस भइसकेको हुनुपर्ने थियो।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद्मा सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहन्छन्। परिषद्मा प्रधानन्यायाधीश पनि सदस्य रहन्छन्। प्रधानन्यायाधीशको पद रिक्त भएको अवस्थामा कानुनमन्त्री सदस्य रहने व्यवस्था छ।


