काठमाडौं– सांगठनिक हिसाबले अझै लोकतान्त्रिक संरचना पछ्याउन नसकेको सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक एक वर्षपछि आजदेखि बस्दै छ। प्रज्ञा भवनमा पाँच दिनसम्म चल्ने केन्द्रीय समिति बैठकमा संगठनात्मक विषयमा छलफल केन्द्रित रहने माओवादी केन्द्रका सचिव गणेश साहले बताए। सोमबारको पदाधिकारी बैठकले तय गरेको एजेन्डा र समग्र प्रतिवेदनलाई केन्द्रीय समितिबाट पारित गराइनेछ।
‘केन्द्रीय समिति बैठकमा पारित गर्ने एजेन्डा सोमबारको पदाधिकारी बैठकले तय गरेको छ। यसलाई अन्तिम रूप दिने काम भइरहेको छ। अहिले बिहान स्थायी कमिटी बैठक बस्दै छ। बैठकले एजेन्डा पारित गरेपछि बिहान ११ बजे केन्द्रीय समिति बैठक प्रज्ञाभवन कमलादीमा बस्नेछ’, उनले भने।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिमा प्रस्तुत हुने एजेन्डा तय गरेको थियो। बैठकले केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक र संगठनात्मक प्रतिवेदन तय गरेको थियो। यसैगरी मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीति र बैठकको तयारी सम्बन्धमा छलफल भएको थियो।
माओवादीले पनि कांग्रेस पछ्याएर केन्द्रीय समिति बैठक लाइभ गर्ने बताएको छ। एक वर्षपछि बस्न लागेको नेकपा माओवादी केन्द्रको जम्बो केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यबाहेक ३७३ जना सहभागी हुँदै छन्। बैठकमा केन्द्रीय समिति सदस्यसहित सहभागी हुनेको संख्या करिब ७५८ जना पुगेका छन्।
बैठकमा केन्द्रीय समिति, केन्द्रीय विभाग र प्रदेश पदाधिकारी सहभागी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए। केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९८, तीन वटा आयोगबाट ७५ र प्रत्येक प्रदेशबाट १ सय सहभागी हुनेछन् ।
बैठकमा सहभागी सबैलाई परिचयपत्र बाँडिसकिएको सचिव उपाध्यायको भनाइ छ।माओवादी केन्द्रमा अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन अयोग रहका छन्। ७ वटा भौगोलिक प्रदेशबाहेक उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास गरी तीन वटा गैरभौगोलिक प्रदेश समिति छन्।


