काठमाडौँ– नेकपा माओवादी केन्द्रले भदौदेखि ३ महिनासम्म संगठन सुदृढीकरण अभियान चलाउने भएको छ। बुधबार सुरु पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै भदौ, असोज र कात्तिक ‘जनतासँग पार्टी अभियान’ चलाउने जानकारी गराएका हुन्।
अभियानका क्रममा देशभरका ६ हजार ७४३ वटै वडा समिति गठन गर्ने, सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

विचार मिल्नेसँग एकता गर्ने र माओवादी केन्द्रले जितेका १२२ वटा स्थानीय तहलाई नमुना बनाउने पनि योजना उनले सुनाएका छन्।
पार्टी सदस्य संख्या ७ लाख ५२ हजार ९५६ रहेकोसमेत प्रतिवेदनमा दाबी गरिएको छ। बागमतीमा १ लाख ४७ हजार ३५३, मधेशमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, गण्डकीमा ६६ हजार ६८७, कर्णालीमा ८५ हजार ७७४ र सुदूरपश्चिममा ८० हजार ४८२ जना पार्टी सदस्य रहेको माओवादी केन्द्रको दाबी छ।
सम्पर्क कमिटीहरुमा १९ हजार ३१२, काठमाडौँ उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना रहेको सांगठनिक प्रतिवेदनमा उल्लेख छ।
माओवादी केन्द्रीय समिति बैठक ५ दिनसम्म चल्नेछ।




