काठमाडौं– बुधबारदेखि सुरु भएको सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई आज पनि निरन्तरता दिइँदै छ। बैठक आज बिहान ११ बजे पुनः बस्दै छ।
बैठकमा हालसम्म झन्डै ६ दर्जन केन्द्रीय सदस्यले मूल नेतृत्व, संगठनमा आएको शिथिलता, सरकारका काम गराइ, भ्रष्टाचारबारे बाहिर आएका समाचारलगायत विषयमा आ–आफ्ना धारणा राखिरहेका नेता गिरिराजमणि पोखरेलले बताए।
बैठकमा मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय वरपर रहेर सदस्यले मूल नेतृत्वसँग प्रश्न गरिरहेका छन्। बैठकमा ३८५ केन्द्रीय समिति सदस्य, १९८ वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० गरी जम्मा ७५८ सहभागी छन्।
केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा बिहीबार वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सुनकाण्डमा मुछिएका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महरासहित ५६ जनाले आफ्नो धारणा राखेका थिए।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट अगाडि सारिएको वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभार शीर्षकको राजनीतिक एवं संगठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखे। ‘अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमा सबैको सहमति छ। आफ्नो धारणा राख्ने क्रम जारी छ। सम्भवतः आगामी २२ साउनसम्म निष्कर्ष निस्कन्छ,’ नेता पोखरेलले भने।


