काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समिति प्रमुखका लागि शैक्षिक योग्यता तोकेको छ। रास्वपामा तोकिएका पदका लागि अनिवार्य स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकिएको हो। यसअघि नेपालमा पञ्चायतकालीन केही समय निर्वाचनमा उम्मेदवार हुने पञ्चहरुका लागि शैक्षिक योग्यता तोकिएको थियो।
नेपालमा गणतन्त्रपछिको कान्छो राजनीतिक दल रास्वपाको बिहीबार बसेको केन्द्रीय समिति बैठकले तोकिएका पदका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने वा सम्बन्धित विभागअनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको योग्यता तोकेको हो।
प्रदेश समितिका पदाधिकारी र सदस्यका लागि स्नातक उत्तीर्ण हुनुपर्ने मापदण्ड बनाइएको महामन्त्री मुकुल ढकालले बताए। स्नातक उत्तीर्ण नभए सम्बन्धित विभागअनुसारको क्षेत्रमा ५ वर्षको अनुभव वा असाधारण क्षमता भएको हुनुपर्ने मापदण्ड बनेको उनको भनाइ छ।
स्थानीय तहका विभाग प्रमुखका लागि कम्तीमा कक्षा १२ उत्तीर्ण वा विभागअनुसारको क्षेत्रमा दुईवर्षे अनुभव वा असाधारण क्षमता हुनुपर्ने मापदण्ड तोकिएको छ।


