काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। आज बिहान ११ बजेदेखि प्रज्ञाभवनमा बस्ने बैठकमा केन्द्रीय सदस्यले पाँच मिनेटको समयभित्र आ–आफ्ना धारणा सार्वजनिक गर्नेछन्।
बैठकमा हालसम्म करिब १४१ केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखिसकेको नेता गिरिराजमणि पोखरेलले बताए। बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट प्रस्तुत एजेन्डा, आगामी मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारका काम–कारबाहीबारे केन्द्रीय सदस्यले आफ्ना धारणा व्यक्त गरेका छन्।
बैठकमा सहभागी अधिकांश केन्द्रीय सदस्यले संसदीय लोकतन्त्रमा हाम फालिसकेपछि र सरकार गठन–विघटनमा प्रतिस्पर्धामा गए पनि नेतृत्वमा भागबन्डा प्रणाली रहिरहँदा पार्टी संगठन थप कमजोर हुने दाबी गरेका छन्।
सरकारमा गएका पार्टीका मन्त्रीहरुले कार्यकर्ता र जनताका समस्याप्रति ध्यान नदिएको, कमिसन, नातावाद, कृपावादमा फसेको, संगठनलाई आफूखुसी चलाएको लगायत गुनासो बैठकमा सुनिँदै आएका छन्। उच्च पदमा बस्ने नेताको उठबस संभ्रान्तसँग हुने गरेको र लाभको पदमा बसेका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग बैठकमा उठिरहेका छन्।
बैठकमा केन्द्रीय सदस्य कृष्ण केसीले माओवादीको मूल नेतृत्व निर्वाचनबाट चुनिनुपर्ने धारणा व्यक्त गरे। प्रजातन्त्र मानिसकेपछि पार्टी संगठनको नेतृत्व पनि प्रतिस्पर्धाबाटै चुनिनुपर्ने उनको भनाइ थियो। अर्का केन्द्रीय सदस्य हिमाल शर्माले कार्यकर्ताले नेता चुन्न पाउनुपर्ने व्यवस्था गर्न माग गरे। पार्टीमा अध्यक्षसहित सबै पदाधिकारी निर्वाचनबाट चुनिन सके मात्रै नेकपा माओवादीको भविष्य अडिने उनको छ। पार्टीलाई व्यक्तिबाट सञ्चालन नगरेर विधिबाट गर्नुपर्ने सुझाव उनले दिए।
बैठकमा केन्द्रीय सदस्य गोविन्द रोक्काले निर्वाचन गरेरै सबै कमिटीको नेतृत्वको छान्नुपर्ने बताए। बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टीलाई संगठनात्मक रुपमा बलियो बनाउने हो भने नेतृत्वको छनोट प्रतिस्पर्धाबाट गरिनुपर्ने र भागबन्डालाई प्रवेश गराउन नहुने धारणा व्यक्त गरिरहेका छन्।
बैठकमा हिजो थपिएका २२ महिलासहित ४०७ केन्द्रीय समिति सदस्य, १९८ वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० गरी साढे ७ सय सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।
बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्। यसपालि नाम टिपाउने सबै सदस्यहरूलाई बोल्न दिने पक्षमा माओवादीको नेतृत्व छ।


