काठमाडौं–३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको अवैध एक क्विन्टल सुन बरामद प्रकरणमा पक्राउ परेर राजस्व अनुसन्धान विभागको जेलबासमा रहेका १७ आरोपीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा स्थानान्तरण गरिएको छ।
सरकारले अवैध सुन प्रकरणमा राजस्व विभागले गर्दै आएको छानबिन कार्य प्रहरीलाई सुम्पिएपछि आरोपीलाई सीआईबीको हिरासतमा राखिएको हो। राजस्व अनुसन्धान विभागबाट थप मिसिल अध्ययन र अनुसन्धानका गर्न भन्दै पत्र आएसँगै सबै अनुसन्धानको मिसिल र आरोपीलाई सीआईबी हिरासतमा राखिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए।
‘आइतबार बेलुकी आरोपीसहित मिसिल आइपुगेको छ। अब आज अनुसन्धान अधिकृत तोकेर मिसिलको अध्ययन तथा थप अनुसन्धान अघि बढ्छ’, उनले भने। यसअघि गत बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन निर्देशन गरेका थिए।
उनको निर्देशनलगत्तै आवश्यक प्रक्रिया पुर्याएर थप अनुसन्धानको जिम्मा सीआईबीलाई हस्तान्तरण गरिएको हो। उक्त प्रकरणमा अब सीआईबीले आर्थिकलगायत संगठित र अन्तरदेशीय अपराधको सन्दर्भमा पनि अनुसन्धान थाल्नेछ।
विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक सु’मा हालेर ल्याइएको अन्दाजी १०० किलो सुन बरामद गरेको थियो। उक्त सुन अहिले परिमाण यकिन गर्न राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ।
अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोप १८ जना पक्राउ परेकामा बिरामीका कारण एक जनालाई तारिखमा छाडिए पनि १७ हिरासतमा छन्। विभागका महानिर्देशक नवराज ढुंगानाले विभागबाट एक चरणको अनुसन्धान सकिएको र अब बाँकी अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिइएको बताए।


