काठमाडौँ- नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले संसद संचालन गर्न एमालेसँग छलफल गर्ने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको संसदीय दल बैठकले सदन चलाउनका लागि दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो।
माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार संसद चलाउनका लागि सत्ता साझेदार र प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलसँग छलफल गर्ने निर्णय भएको छ।
केही समययता एमालेले सदनमा अवरोध गर्दै आएको छ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै एमालेले सदनमा अवरोध खडा गर्दै आएको हो।
माओवादीको सोमबारको संसदीय दलको बैठकमा १२ सांसदले धारणा राखेका थिए। बैठकमा प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्ष र प्रमुख प्रतिपक्षीसहित दलका नेताहरूसँग छलफल गर्ने बताएका थिए।
सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले पनि दलका नेताहरूसँग छलपल गर्ने तयारी गरेका छन्।


