काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको विवाद चुलिएको छ। महिला संघ अध्यक्ष उषा राउत मिश्रले जिल्ला अध्यक्ष मनोनित गरेपछि अर्को पक्षले विरोध गरेको हो। मिश्रले संस्थापनइतर पक्षका १२ जना जिल्ला अध्यक्ष हटाएपछि विवाद सुरु भएको हो।
संस्थापनइतरका २० जना केन्द्रीय सदस्यले सोमबार पत्रकार सम्मेलन गरेर निर्णय सच्याउन चेतावनी दिएका छन्। तीन दिनभित्र निर्णय नसच्याए देशभर समानान्तर समिति बनाउने र २० जना केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिनेसमेत चेतावनी दिएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै सङ्घको केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य रिता शाहीलाई सङ्घको विधान महाधिवेशन गर्ने जिम्मा पाएको नेतृत्वले धमाधम जिल्ला नेतृत्वलाई हटाउनु दुःखद् भएको बताइन्। ‘पार्टीलाई एकढिक्का बनाएर सङ्गठन सुदृढिकरण अभियान सञ्चालन भइरहेको बेलामा पार्टीभित्र विग्रह निम्याउन खोज्ने वर्तमान अध्यक्षलाई तत्काल बर्खास्त गर्नुपर्छ,’ उनले भनिन्।
संघको विधान विपरीत अध्यक्ष मिश्रले १२ जिल्ला अध्यक्षलाई स्पष्टीकरणको अवसर समेत नदिई हटाएको भन्दै संस्थापन इतरको आपत्ति छ।
अध्यक्ष मिश्रले सोलुखोम्बुमा छिल्हामु शेर्पा, बारा सीता मैनाली, पर्सामा विद्या श्रेष्ठ, सिरहामा विमला निरौला, ताप्लेजुङमा मीना गुरुङ, इलाममा निर्मला सञ्जेल, महोत्तरीमा विना तिवारी, रौतहटमा भुवनी गिरी, कास्कीमा कोपिला रानाभाट, झापामा सुशीला ढकाल र हुम्लामा विजया बुढालाई हटाएर नयाँ अध्यक्ष तोकेकी थिइन्।
अध्यक्ष मिश्रले गरेको निर्णयको विरोधमा सभापति, उपसभापति महामन्त्री, सहमहामन्त्री र पदाधिकारीलाई ध्यानाकर्षण गराइएको विज्ञप्तिमा जनाइएको छ।


