काठमाडौं– लोकतन्त्रमा छाया सरकार मानिने मुख्य प्रतिपक्षी एमालेले १० साउनदेखि अवैध सुन तस्करी प्रकरणलाई लिएर प्रतिनिधिसभा र राष्ट्रिय सभा मंगलबार केही बेर खुलाएपछि फेरि अवरुद्ध बनेको छ।मंगलबारको सत्तापक्ष र प्रतिपक्षबीच घोचाघोच टीकाटिप्पणी भए। प्रतिपक्षी एमाले सांसद योगेश भट्टराईले उच्चस्तरीय संसदीय छानबिन समिति गठनको घोषणा नगरुन्जेल सदन चल्न नदिइने एमाले नीति रहेको हाकाहाकी सुनाए।
उनले गत ३ साउनमा विमानस्थल भन्सारबाट बाहिरिएको एक क्विन्टल सुन बरामद प्रकरणको छानबिन सरकारले निकायले गरेकाले गृहमन्त्री र अर्थमन्त्रीमाथि छानबिन हुनै नसक्ने हुँदा एमालेले उच्चस्तरीय संसदीय छानबिन मागेको दाबी गरे।
सत्तापक्षका कांग्रेस सांसद विश्वप्रकाश शर्माले प्रतिपक्षी एमालेकै कारण संसद्मा जनताका आवाज राख्न नपाइएको गुनासो गरे। उनले सुन प्रकरणलाई लिएर एमालेले सदनलाई बन्धक बनाएको आरोपसमेत लगाए।सांसद शर्माले यसबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा लुम्बिनी विकास कोषमा भएको विवादास्पद व्यक्तिको नियुक्ति, लम्कीस्किन, डेंगु, बाढीपहिरो, डुबानलगायत विषयमा सदनमा कुरा राख्न एमाले मुख्य अवरोधक भएको दाबी गरे।
सदनमा राप्रपा, रास्वपालगायतका दलका सांसदले एमालेलाई सदन अवरोध नगर्न आग्रह गरे पनि उसले टेरेको देखिएन। हिजो अवरुद्ध प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि संसद् सचिवालयले बोलाए पनि माग पूरा नहुन्जेल चल्न नदिइने एमाले नेता गोकर्ण विष्टले बताए।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ। सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेलगायत कार्यसूची छन्।
एमालेले आजको बैठकमा पनि अवरोध गर्ने तयारी गरेकाले कार्यसूचीअनुसार संसद् चल्ने आशंका भने यथावतै छ। मंगलबार सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिए पनि एमालेले सन्तुष्टि नमिलेको भन्दै नाराबाजी गरेर सदन बन्द गराएको थियो।
सुन प्रकरणमा संसदीय छानबिन समिति गठनको एकसूत्रीय माग राखेर अवरोध गरिँदा सत्तारुढ नेकपा माओवादी केन्द्र र प्रतिपक्षी एमालेका कारण संसद् बन्धक बनेको छ।


