काठमाडौं– गत १० साउनदेखि अवैध सुन प्रकरणको विषयलाई लिएर संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी एमालेले आजको बैठक पनि चल्न दिएन। एमाले अवरोधका कारण स्थगित संसद् बैठक शुक्रबारका लागि बोलाइएको छ। गत ३ साउनमा विमानस्थल भन्सारबाट बाहिरिएर राजस्व अनुसन्धान विभागको टोलीबाट बरामद १०० केजी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै एमालेले आज पनि संसद् अवरुद्ध गरेको हो।
एमाले सांसदले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक सभामुख देवराज घिमिरेले शुक्रबार दिउँसोसम्मलाई स्थगित गरेका छन्। एमाले अवरोधपछि सभामुख घिमिरेले आजका निर्धारित कार्यक्रमका सूची हटाएर शुक्रबार दिउँसो २ बजेसम्मलाई बैठक स्थगित गरेका हुन्।
मंगलबार संसद्मा जवाफ दिने क्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल उच्चस्तरीय समिति बनाउन नसकिने जवाफ दिएका थिए। सुन प्रकरणबारे अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेकाले अर्को समिति बनाउँदा समस्या हुने उनको तर्क थियो।
तर, गृहमन्त्रीको जवाफमा चित्त नबुझाएको एमालेले आज पनि अन्तिममा संसद्मा अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेका थिए। संसद् खुलाउन आज बालुवाटारमा शीर्ष नेताबीच बैठक भए पनि सहमति हुन सकेन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच वार्ता भए पनि संसद्मा एमालेको अवरोध नहटेको हो।


