काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो बहुमत छ भनेर नियम मिच्न नहुने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस प्रदेश १ (ख) र काठमाडौं वडा नम्बर ३१ को संयुक्त कार्यक्रममा नेता सिंहले नियम मिच्दा पार्टी भित्रको प्रजातान्त्रिक आचरणमा असर पर्ने बताए। उनले आफु यस्तो प्रवृतिविरुद्ध अभियान चलाएर आएको मान्छे भएको जिकिर गरे।
उनले भने, ‘वर्किङ कमिटीमा आफ्नो बहुमत छ भन्दैमा विधि र नियम मिच्नु भएन भन्ने कुरालाई अभियानको रुपमा चलाएको मान्छे हो म।’
नेता सिंहले पार्टीलाई व्यवस्थित गरेर विधि नियमअनुसार लानु पर्ने बताएका छन् । समयलाई बुझेर चुनौतीको सामना गर्नु पर्ने उनको भनाइ छ।
उनले भने, ‘यो बेकारको अस्वस्थ प्रतिपर्धा एकआपसमा नगरौं है। सबैले काम गर्दै जाऔं। अब अवसर पाउनको लागि धेरै फ्याक्टरहरु मिल्न पर्ने हुन्छ। ईच्छा गर्नु आफ्नो अधिकारको कुरा हो, तर आफुले चाहेको कुरा प्राप्त भएन भने बाटो नै विराउने गरेर पार्टीको गतिविधि अगाडि बढ्दैन भन्ने हेक्का राख्नुपर्छ ।’
नेता सिंहले राजनीतिमा धैर्य पनि हुनुपर्ने बताए। व्यक्तिगत पहिचान भन्दा पनि पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नु पर्ने उनको भनाइ छ।
उनले विरोधीहरुको भएन भन्ने नारालाई टिपेर पार्टी कमजोर भयो भनेर हिड्न नहुने बताए।


