काठमाडौं- राष्ट्रिय सभाको बैठकमा प्रतिपक्षका सांसदले उठेर सदन अवरुद्ध गराएलगत्तै सत्ता पक्षका सांसद समेत उठेर विरोध जनाएका छन् । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरुले आफ्ना कुरा राखेपछि एमाले सांसद विमला राई पौडेलले सुन प्रकरणको छानबिनका लागि समिति गठनको माग यथावत रहेको बताएकी थिइन्। उनले यसो भने लगत्तै एमाले सांसदहरुले उठेर विरोध गरेका थिए।
लगत्तै सत्ता पक्षका सांसदसमेत उठेर विरोध जनाएपछि अध्यक्ष गणेश तिमिल्सिनाले पटक पटक बस्न आग्रह गरेका थिए। उनले बैठकको कार्यसूची अघि बढाउन सहयोग गर्न आग्रह गरेका थिए।
उनले सत्ता पक्षका सांसद समेत उठेपछि हास्दैँ भने ‘कि उठीउठी बैठक चलाउन नयाँ अभ्यास सुरु गर्ने हो की! जसरी एकसाथ उभिनु भएको छ। त्यसैगरी एकसाथ बसिदिनुहोस्। म माननीय ज्यूहरुलाई आग्रह गर्छु,’ उनले भने, ‘हाम्रा केही कार्यसूची केही लामो समयदेखि रोकिएका छन्, अगाडि बढाउँ ।’
झण्डै १० मिनेट लगातार प्रतिपक्ष दलका सांसदसहित सत्ता पक्षका सांसदसमेत उठेर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले बैठक ३१ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका छन् ।


