काठमाडौं– नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले डा. सुनिल शर्मालाई पक्राउ गरेर राज्यले प्रतिशोध साँधेको बताएका छन्। शुक्रबार कांग्रेस संसदीय दलको बैठकपछि भण्डारीले शर्मालाई पक्राउ गरेको प्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन्।
‘जसको शक्ति त्यसको भक्ति भन्ने अब चल्दैन। सुनिल शर्मालाई थुन्नुपर्छ भन्ने छैन। मैले प्रधानमन्त्री र सीआईबी प्रमुखलाई यो गलत भयो भनिसकेको छु,’ उनले भने, ‘तत्कालीन अवस्थामा नवराज सिलवालले त्यसलाई अघि नबढाउने भनिसकेका छन्। बन्द गरिसकेको कुरा फेरि निकालेर कसैसँग प्रतिशोध साँध्नु गलत हो।’
उनले ललिता निवास प्रकरणको उदाहरण दिँदै सुनिल शर्मालाई पक्राउ गर्नु गलत भएको दाबी गरे। ‘कसैले सरकारी जग्गा आफ्नो नाममा सारेर फिर्ता गर्दा पनि उन्मुक्ति पाउने,’ उनले भने। भण्डारीले देशमा यति धेरै लुटपाट र भ्रष्टाचार हुँदा हुँदै सकिइसकेको मुद्दामा राज्य एउटा व्यक्तिको पछि प्रतिशोध साँध्न लाग्नु गलत भएको बताए। ‘कसैले जग्गा किनेपछि फिर्ता गर्दा पनि उन्मुक्ति पाउने। सुनिल शर्मालाई अदालतले सफाइ दिएको मुद्दामा फेरि थुन्नुपर्ने किन?,’ उनको प्रश्न थियो।


