काठमाडौं– खानेपानी मन्त्रालयमा चित्त नबुझेर गत १७ चैतमा पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएर बाहिरिएको जनमत पार्टी जुनसुकै मन्त्रालय दिए पनि फेरि सरकारमा जान सहमत भएको छ।
सीके राउत नेतृत्वको जनमत पार्टी सम्भवतः भोलि आइतबार प्रचण्डको सरकारमा सहभागी हुने भएको हो। जनमत पार्टी सरकारमा जाने भए पनि यो समाचार लेख्दासम्म मन्त्रालयको टुंगो भने लागिसकेको छैन।
गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय दाबी गरे पनि नदिइएपछि चैतमा बाहिरिएको थियो। जनमतबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले १७ चैतमा राजीनामा दिएका थिए।
जनमतले अनितादेवी साहलाई मन्त्रीमा सिफारिस गरेको भनिए पनि हालसम्म निर्णय बाहिर ल्याएको छैन।


