काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, माओवादी लडाकु शिविरको घोटलाबारे प्रश्न उठाएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘समृद्ध नेपाल सुखी नेपाली : देश विकासको मार्गचित्र’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले माओवादीले सेना समायोजन गर्दा भएको घोटलाबारे प्रश्न उठाएका हुन्। पहिले भनेजति सेना नभएको र उनीहरुको नाममा लिएको पैसा माओवादीले नेताहरुले लगेको उनको आरोप छ।
‘क्यान्टोनमेनमा के भयो त? ३४ हजार भनियो। ३ हजार भागे। ३१ हजार भनियो। ती पनि थिएनन्। गन्न खोज्दा मान्छे जम्मा गरेर ल्याइयो। मान्छे ट्रकका ट्रक जम्मा गरियो। यो दुनियाँले देखेको छ। कतिपय कुराहरु चिरञ्जीवीजीहरुले किन नदेखेको जस्तो गर्नु भयो। म बुझ्दिनँ,’ उनले भने, ‘३१ हजार भनेर माओवादीले पैसा लिएको लियै गर्यो। गन्छौँ भनेपछि देशभरिबाट मान्छे ओसारियो। २४ हजार मात्र पर्यो। के ३१ हजारबाट २४ हजारमा एकै दिन घटेको हो? २४ हजार नै सदर गर्दा पनि बीचको पैसा कहाँ गयो त?
तत्कालीन माओवादी सेना १९ हजारसमेत नरहेको उनको भनाइ थियो।


