काठमाडौं– गत ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भई बाहिरिएको अवैध एक क्विन्टल सुन प्रकरणलाई लिएर आफूले गरेको संसद् अवरोधबारे मुख्य प्रतिपक्षी एमालेले मुख खोल्ने भएको छ।
एमालेले अवैध सुन प्रकरणबारे उच्चस्तरीय संसदीय छानबिन समिति गठन माग गर्दै १० साउनदेखि संघीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएको छ। सोही कारण हाल संसद् बैठक सूचना टाँसेर स्थगित छन्।
राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको अवैध एक क्विन्टल सुनबारे सदनलाई जानकारी दिने सर्तमा नेकपा एमालेले गत बिहीबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जवाफ दिन केही बेर संसद् खुलाए पनि फेरि बन्द गरेको थियो।
शुक्रबारका दुवै सदनमा प्रतिपक्षी एमाले अवरोधको प्रतिरोधस्वरुप सत्तारुढ दलका सांसदले नै संसद् बैठक चल्न दिएनन्।
यसबीचमा सभामुख देवराज घिमिरेले पटक–पटक शीर्ष दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केप ीओली र प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संसद् खुलाउन वार्ता गरे पनि सफल भएको छैन। स्वयं प्रधानमन्त्री प्रचण्डले बालुवाटारमै सभामुखसमेतलाई सहभागी गराएर ओली, देउवा र आफूबीच वार्ता गरे पनि संसद् खुल्ने छाँटकाँट देखिएन।
लगातार सदन अवरोध गराएको भन्दै आलोचनामा परेपछि त्यसको अवगालबाट बच्न मुख्य प्रतिपक्षी एमालेले आज विशेष पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ। एमाले मुख्यालय ललितपुरको च्यासलमा दिउँसो १२ः४५ बजे पत्रकार सम्मेलन आयोजना गरिन लागेको हो।
विशेष पत्रकार सम्मेलनमा वर्तमान समसामयिक राजनीतिक, संसद् गतिरोधलगायत विषयमा पार्टीको औपचारिक धारणा अध्यक्ष केपी ओलीले सार्वजनिक गर्ने केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ। यद्यपि यसबारे एमाले नेताहरुले समाचार लेखुन्जेल केही बोलेका छैनन्।
सरकारले अवैध सुन प्रकरणको छानबिनमा संसदीय समिति गठन गर्नुको साटो घटनालाई अतिरञ्जित बनाएर राजनीतिक लाभ लिन खोजेको एमाले नेता गोकर्ण विष्टले बताए। सदनमा आफ्ना कुरा राख्ने सांसदलाई तर्साउन सीआईबीलाई प्रयोग गर्न लागेजस्तो देखिएको उनको भनाइ छ। सरकारी रवैया, अवैध सुन काण्ड र संसद् अवरोधबारे जनतालाई जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको उनले पुष्टि गरे।


