काठमाडौं– सत्तारुढ कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ। शुक्रबारदेखि सुरु भएको बैठक आज मध्याह्न साढे १२ बजे संघीय संसद् भवनमा बस्न लागेको हो।
आजको बैठकमा सभापति शेरबहादुर देउवाले आफ्नो धारणा राख्ने बुझिएको छ। बैठकमा संसद्को गतिरोध, अवैध सुन काण्ड, सरकारका काम–कारबाहीलगायत विषयमा छलफल भइरहेको छ।
शुक्रबारको बैठकमा केही सांसदले मुख्य प्रतिपक्षी एमालेले अवैध सुन प्रकरणमा माग गर्दै आएको उच्चस्तरीय छानबिन समिति गठनका विषयमा पार्टीले सहमति जनाउनुपर्ने आवाज पनि उठाएका थिए।
शुक्रबारको बैठकमा नक्कली सर्टिफिकेट प्रकरणमा सीआईबीबाट पक्राउमा परेका सांसद सुनील शर्माबारे सरकारलाई जवाफ दिनुपर्ने आवाज उठेको थियो। शर्माले सुन काण्ड छानबिनबारे कुरा उठाएकैले सरकारले प्रतिशोध साँधेर पक्राउ गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।


