मस्को- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरराष्ट्रिय मामिलामा भारतले रचनात्मक भूमिका निर्वाह गर्न सक्ने बताएका छन्। भारतको ७७ औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाउँदै यस्तो उल्लेख गरेका हुन्।
‘भारतले आर्थिक, वैज्ञानिक, प्राविधिक, सामाजिक र अन्य क्षेत्रमा विश्वव्यापी रूपमा मान्यता एवम् सफलता हासिल गरेको छ, विश्व मञ्चमा सम्मान प्राप्त भारतले साझा चासोका वैश्विक मामिलामा रचनात्मक भूमिका निर्वाह गर्नसक्छ,’ सन्देशमा भनिएको छ। नयाँदिल्लीसँगको विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीको सम्बन्धलाई आफूले उच्च महत्व दिएको राष्ट्रपति पुटिनले पठाएको सन्देशमा भनिएको छ।
रुस र भारतको संयुक्त प्रयासबाट सबै क्षेत्रमा फलदायी द्विपक्षीय सहयोग विस्तारका साथै क्षेत्रीय एवं विश्वव्यापी मुद्दाहरू समाधान गर्न रचनात्मक साझेदारीलाई अझ सुदृढ बनाउन आफू तत्पर रहेको बताउँदै रुसी राष्ट्रपतिले मित्र राष्ट्रहरूको हितमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैगरी, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले ७७औँ स्वतन्त्रता दिवसको अवसरमा बधाई ज्ञापन गर्दै नयाँदिल्ली पेरिसको ‘विश्वसनीय मित्र’ भएको बताएका छन्। उनले गत महिना भएको प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमणको स्मरण गर्दै भविष्यमा द्विपक्षीय सम्बन्ध अझ घनीभूत हुने विश्वास व्यक्त गरेका छन्।


