दमक- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा निराशाको मौका छोपी नयाँ दलले व्यापार गर्न थालेको टिप्पणी गरेका छन्। नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।
‘देशमा छाएको निराशाको मौका छोपी केही नयाँ दलले व्यापार थालेका छन्। कांग्रेसका नेता तथा कार्यकर्ता चुनावका लागि मात्र नभएर जनताको परिवर्तनको निम्ति जुट्नुपर्छ,’ उनले भनेका थिए।
देशलाई हानी पुर्याउने भ्रष्टाचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने उनको भनाइ थियो। ‘विभिन्न प्रकरणमा संलग्नलाई राजनीतिक आस्थाका आधारमा नहेरी निष्पक्ष छानबीन गरी दण्डित गरिनुपर्छ,’ उनले भने।
वर्तमान सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खोलेर छानबीनको प्रक्रिया सुरु गरेकामा केही आशा जगाएको बताएका थिए। सबै ती फाइल खोलेर अनुसन्धानको प्रक्रियालाई तीव्रता दिनुपर्नेमा उनले जोड दिए।
चुनौतीलाई अवसरका रुपमा बदल्न कांग्रेसले अगुवाइ गर्नुपर्ने महामन्त्री थापाको भनाइ थियो। ‘२०८४ सालको निर्वाचनको चिन्ता होइन, २०८० देखिनै देशको अवस्था परिर्वतनमा हामी सबै एकभएर लागेपछि देशको मुहार फेर्न सकिन्छ,’ उनको भनाइ छ।
केही दल आगामी आम निर्वाचनमा जित हारको मात्र चिन्ता गरेर बसेको उल्लेख गर्दै उनले त्यो चिन्ता पार्टीको मात्र स्वार्थ भएकाले अवसर प्राप्तिका लागि सरकार अघि बढ्नुपर्ने उल्लेख गरे।
पार्टी नगर सभापति अशोक बस्नेतको अध्यक्षतामा भएको उक्त सम्मेलनमा कांग्रेस झापाका सभापति देउकुमार थेवेलगायत नेताले आ–आफ्नो धारणा राखेका थिए।


