काठमाडौं– कोसी सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमाथि आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदै छ। सोमबार पूर्ण इजलासमा सुनुवाइ सुरु गरिएको रिटमाथि बहस नटुंगिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो।
आइतबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिट निवेदनलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो। सोही आदेशअनुसार सोमबार न्यायाधीशत्रय सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीसहितको पूर्ण इजलासमा रिट निवेदनमाथि सुनुवाइ भइरहेको हो।
कोसी एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङसहितलाई विपक्षी बनाएर १७ भदौमा रिट निवेदन दर्ता गराएका थिए।
प्रदेशसभा अध्यक्षता गरेका व्यक्तिको हस्ताक्षरबाट सरकारले बहुमत जुटाएपछि असंवैधानिक रहेको दाबीसहित सर्वोच्चमा हालिएको रिटमाथिको पूर्ण इजलासबाट छिनोफानो हुन लागेको हो।


