इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका समर्थक अक्सर ग्लेजर परिवारका विरुद्धमा आन्दोलित भइरहन्छन्। ग्लेजर त्यही परिवार (अवराम र जोएल ग्लेजर)हो, जो म्यानचेस्टर युनाइटेका मालिक हुन्।
सन् २०२२ को नोभेम्बरमा ग्लेजर परिवारले युनाइटेडले रणनीतिक विकल्पको खोजिरहेको र क्लब बेच्ने प्रकिया सुरु गरेको घोषणा गरेका थिए। यो घोषणाले क्लबका फ्यान रोमाञ्चित बनेका थिए। किनकि ग्लेजर परिवारको हातबाट बाहिर पुगे क्लबले प्रगति गर्न सक्ने अपेक्षा समर्थकमा थियो। ग्लेजर परिवारले गरिरहेको असफल अध्यक्षताका कारण क्लब असफल बनेको निष्कर्ष समर्थकहरुको छ।
ग्लेजर परिवारले उक्त घोषणा गरेको १० महिना बितिसकेको छ। समर्थकमाझ बदनाम अमेरिकी परिवारले अझै पनि इंग्ल्यान्डको सबैभन्दा ठूलो र सफल क्लबको नेतृत्व गरिरहेको छ। युनाइटेडका प्रत्येक खेलमा समर्थकले विरोध प्रदर्शन गरिरहेका छन्। तर ग्लेजर परिवार नियमित रुपमा हुने प्रदर्शनबाट कत्ति पनि विचलित छैन।
युनाइटेडलाई किन्न ब्रिटिस मल्टिनेसनल केमिकल कम्पनी आइएनईओएस र कतारी बैँकर शेख जसिम इच्छुक छन्। यो महिनौंदेखि सञ्चार माध्यममा बहसको विषय बनिरहेकको पनि छ। तर अहिले पनि ग्लेजर परिवार युनाइटेड बेच्न इच्छुक छन् भन्ने कुरामा गम्भीर आशंका छ।
यसैबीचमा टिमले चिन्ताजनक हिसाबले नयाँ सिजनको सुरुवात गरेको छ। क्लब अहिले आफ्ना मालिकका कारण एकपछि अर्को संकटबाट गुज्रिरहेको छ।

युनाइटेड विगत १८ वर्षदेखि ग्लेजर परिवारको नियन्त्रणमा छ। यो बीचमा ठूला विरोध प्रदर्शन, संस्थागत संकट, यूरोपियन सुपर लिगको असफल लन्च र एक दशक भन्दा लामो समयमा क्लबको सेयरको मूल्यमा गिरावट लगायतका समस्याबाट युनाइटेड घेरिएको छ।
युनाइटेडमा ग्लेजर परिवारको इन्ट्री
सन् २००३ को मार्चमा लिग कप फाइनलमा लिभरपुलले युनाइटेडलाई २-० गोल अन्तरले हरायो। कार्डिफमा भएको उक्त खेलकै दिन युनाइटेडमा ग्लेजर परिवारको इन्ट्री भएको थियो। अमेरिकाको फ्लोरिडाका व्यवसायी मेल्कम ग्लेजरले युनाइटेडको २.९ प्रतिशत शेयर ९ मलियन पाउन्ड (११ मिलियन डलर) किने। उनले ग्लेजर रेड फुटबल नामक होल्डिङ कम्पनीका माध्यमबाट उक्त सेयर हात पारेका थिए। तर नोभेम्बरको अन्तिमसम्म मेल्कम र उनको परिवारको युनाइटेडमा १५ प्रतिशत हिस्सेदारी हुन पुग्यो।
सन् २००५ को १२ मे मा ग्लेजर परिवारले प्रमुख लगानीकर्ता जेपी म्याकमेनस र जोन म्याग्नियरको सेयर खरिद गर्यो। योसँगै ग्लेजर परिवारको क्लबमा ५७ प्रतिशत हिस्सेदारी स्थापित भयो। त्यसको चार दिनपछि रेड फुटबलले युनाइटेडमा आफ्नो हिस्सेदारी बढाएर ७५ प्रतिशत पुर्यायो। त्यसपछि लन्डन स्टक एक्सचेन्जबाट क्लबलाई बाहिर निकाल्ने अनुमति ग्लेजर परिवारलाई मिल्यो।
युनाइटेडका अधिकांश समर्थक सोही वर्षको फेब्रुअरीदेखि ग्लेजर परिवारले गर्न खोजेको क्लब अधिग्रहणको विरोध गरिरहेका थिए। आर्सनलविरुद्ध भएको एफए कप फाइनलमा समर्थकले कालो कपडा लगाएर विरोध गरेका थिए। जुन खेलमा युनाइटेड पेनाल्टीमा पराजित भएको थियो।
सन् २००५ को २९ जुनमा ग्लेजर परिवारले म्यानचेस्टर युनाइटेडको अधिग्रहण नै गर्यो। यतिबेला युनाइटेडमा रेड फुटबलको शेयर ९८ प्रतिशत पुगेको थियो। यसपछि क्लबका दिन अझ दयनीय बन्न थाले। ७० वर्षभन्दा लामो अवधिको इतिहास बोकेको क्लब पहिलो पटक ऋणमा डुब्यो। म्यान्चेस्टर युनाइटेडले ६६० मिलियन पाउन्ड (८२४ मिलियन डलर) ऋण लिनुपर्यो। यो ऋणको ब्याजवापत प्रतिवर्ष ७७ मिलियन डलर तिर्नुपर्ने भयो।
क्लब अहिले आफ्ना मालिकका कारण एकपछि अर्को संकटबाट गुज्रिरहेको छ।
क्लब बिक्री प्रक्रिया पूरा भएको अघिल्लो दिन करिब ३०० समर्थकले नयाँ मालिकका विरुद्धमा ओर्ल्ड टार्फोडभन्दा बाहिर प्रदर्शन गरेका थिए। त्यो बेला दुई जनालाई प्रहरीले गिरफ्तारसमेत गरेको थियो।
मेल्कम ग्लेजरका छोरा अवराम, जोएल र ब्रायनलाई गैर-कार्यकारी निर्देशकका रुपमा नियुक्त गरियो। उनका अन्य छोरा केविन र एडवर्ड अनि छोरी डार्सीलाई सन् २००६ मा बोर्डमा नियुक्त गरिएको थियो। क्लबलाई ग्लेजर परिवारले किनेको विषयमा रिसाएका समर्थकले एफसी युनाइटेड अफ म्यानचेस्टर नामक नयाँ क्लब लन्च गरे। जसलाई नन लिग नर्थ वेष्ट काउन्टिजको दोस्रो डिभिजनमा स्वीकार गरिएको थियो।
सन् २०१० को जनवरीमा फेरि समर्थकले विरोध प्रदर्शन गरेका थिए। त्यसको कारण थियो- बढ्दो ऋण। लगातार तीन प्रिमियर लिगको उपाधि, सन् २००८ मा च्याम्पियन्स लिगको उपाधि र सन् २००९ मा च्याम्पियन्स लिगको फाइनल खेलेपछि भने मैदानमा युनाइटेडको हालत खराब देखिन्थ्यो।

क्रिस्टियानो रोनाल्डोलाई त्यो बेला विश्व किर्तिमानी मूल्य ९० मिलियन पाउन्डमा रियल मड्रिडमा बेचियो। त्यो सिजन ट्रान्सफर मार्केटमा अपेक्षाकृत मितव्ययी खर्च गरेको युनाइटेडको ऋण भने बढेको बढ्यै थियो। क्लबको ऋण ६६० मिलियन पाउन्डबाट बढेर ७१६ मिलियन पाउण्डमा पुगेको थियो। ग्लेजर परिवारले उक्त ऋण चुक्ता गर्नका लागि थप ऋण लिने घोषणा गर्यो। जसका कारण युनाइटेडका खेलमा विरोधको लहर फैलियो। पहिलो पटक समर्थकले मालिकको विरोध गर्न रातो रंग छाडेर हरियो र पहेँलो रंग लगाउन सुरु गरे।
सन् २००९-१० को सिजनमा स्टोक सिटीविरुद्धको अन्तिम खेलमा ठूलो संख्यामा उपस्थित समर्थकहरुले प्रदर्शन गरे। त्यो सिजन युनाइटेडले प्रिमियर लिग जित्न सकेन र चेल्सीले उपाधि जित्यो।
सन् २०१३ को मेमा सर एलेक्स फर्गुसनले सन्यास लिए। उनको यो निर्णयले फुटबलको दुनियाँ स्तब्ध बन्यो। सन् १९८६ देखि क्लबका प्रशिक्षक रहेका उनले सन्यास लिन लागेको घोषणा युनाइटेडले गरेको थियो। फर्गुसनले केही समयअघि मात्रै क्लबलाई १३औं प्रिमियर लिगको उपाधि जिताएका थिए। त्योसँगै युनाइटेडले २० पटक प्रिमियर लिग जितेको थियो।
मेल्कम ग्लेजरको ८५ वर्षको उमेरमा सन् २०१४ को मेमा निधन भयो। उनले कहिलै पनि ओल्ड ट्राफोर्डमा कदम राखेनन्। सोही कारण युनाइटेडका अधिकांश समर्थकमाझ उनको मृत्यु हुँदा पनि खास शोकको माहोल थिएन।
फर्गुसनकै सिफारिसमा युनाइटेडले एभर्टनका तत्कालीन प्रशिक्षक डेभिड मोयसलाई प्रशिक्षक बनाएको थियो। स्वान्सी सिटीविरुद्धको अन्तिम खेलपछि फर्गुसनले ओल्ड टार्फोडबाट समर्थकलाई नयाँ प्रशिक्षकका साथमा उभिन आग्रह गरेका थिए।
ट्रान्सर विन्डोमा केवल फलइनीलाई अनुबन्ध गरेर म्यानेजरका रुपमा मोयसले युनाइटेडमा काम थाले। युनाइटेडमा उनको सुरुवात निकै कठिन रह्यो। मोयस नेतृत्वको युनाइटेड सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सीसँग पराजित भयो।
युनाइटेडले मोयससँग ६ वर्षको सम्झौता गरेको थियो। एभर्टनसँग पराजित भएपछि मोयस सन् २०१४ को अप्रिलमा बर्खास्तीमा परे। सन् १९९२ पछि पहिलो पटक युनाइटेड च्याम्पियन्स लिगमा छनौट हुन सकेन। रोन एटकिन्सनपछि युनाइटेडले पहिलो पटक म्यानेजर बर्खास्त गरेको थियो। एटकिन्सन सन् १९८६ मा बर्खास्तीमा परेका थिए।
सन् २००६ को अप्रिलमा स्ट्रोक झेलेका मेल्कम ग्लेजरको ८५ वर्षको उमेरमा सन् २०१४ को मेमा निधन भयो। उनले कहिलै पनि ओल्ड ट्राफोर्डमा कदम राखेनन्। सोही कारण युनाइटेडका अधिकांश समर्थकमाझ उनको मृत्यु हुँदा पनि खास शोकको माहोल थिएन।
सन् २०२१ मा युनाइटेड यूरोपियन सुपर लिगमा सामेल भएको थियो। १८ अप्रिलमा युनाइटेड प्रिमियर लिगका अन्य ५ क्लबसँगै इटाली र स्पेनका क्लबहरुले एक नयाँ यूरोपियन सुपर लिगको घोषणा गरे। प्रतियोगिताले च्याम्पिन्स लिगको स्थान लिने र हरेक सिजनमा स्वचालित प्रवेशको अनुमति दिइने गरी लिगको फर्म्याट बनाइएको थियो। घरेलु लिगको टेबलमा जुनसुकै स्थानमा रहेर सिजन समाप्त गरेपनि ती क्लबहरुले स्वत सुपर लिग खेल्न सक्ने गरी लिग घोषणा गरिएको थियो। ग्लेजर नयाँ प्रतियोगिताका मुख्य समर्थक मध्ये एक थिए। तर घोषणा भएको ४८ घण्टा इंग्लिस फुटबल समर्थकमा असन्तोषलाई मध्यनजर गर्दै युनाइटेड पछि हट्यो। युनाइटेडका समर्थक ग्लेजरविरुद्ध संगठित हुन थाले। सोही कारण मे २ मा लिभरपुल विरुद्धको खेल नै स्थगित हुन पुग्यो। त्यो दिन प्रसंशकले ओल्ड ट्राफोर्डमा कब्जा जमाएका थिए र पिचमा प्रवेश गरेका थिए।

सन् २०२२ को नोभेम्बरमा ग्लेजर्सले रणनीतिक समीक्षाको घोषणा गरेका थिए। कतारमा विश्वकप जारी रहँदा युनाइटेडको बोर्डले रणनीतिक विकल्पको खोजी गर्ने प्रकिया सुरु भएको घोषणा गरेको थियो। जसमा क्लब बिक्री गर्ने एउटा विकल्प पनि थियो।
बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘यस प्रकियामा बोर्डले सबै रणनीतिक विकल्पमाथि विचार गर्नेछ। जसमा क्लबमा नयाँ लगानी, बिक्री वा कम्पनीसँग अन्य लेनदेन समावेश छन्।’ यो घोषणा भएको केही मिनेटपछि समर्थकले ओल्ड ट्रार्फोड अगाडि आतिशबाजी गरेका थिए। क्लबमा ग्लेजरको नेतृत्व चाँडै समाप्त हुने कुराले समर्थक उत्साही थिए।
फेब्रुअरी २०२३ मा युनाइटेडलाई किन्न मुख्य दुई प्रस्ताव आए। जसमध्ये एक थियो- पेट्रोकेमकल फर्म आईएनईओएस। यसको नेतृत्व म्यानचेस्टरमा जन्मिएका उद्यमी सर जिम र्याटक्लिफले गरेका थिए। अर्को प्रस्ताव गर्ने व्यक्ति थिए- कतारी बैंकर शेख जसीम विन हमद अल थानी। दुवै प्रस्तावकका प्रतिनिधिले मार्चमा क्लबका अधिकारीसँग छलफल गरेका थिए।
सन् २०२३ को जुनमा शेख जसीमले अन्तिम प्रस्ताव राखेका थिए। जसीमको इनान टू फाउन्डेसनले युनाइटेडका लागि ‘टेक इट अर लिभ इट’ प्रस्ताव गरेका थिए। त्यो प्रस्तावका कारण उनी क्लबका आगामी मालिक बन्ने सम्भावना बढायो। उनले ५ बिलियन पाउन्ड (६.२५ मिलियन डलर)भन्दा बढीको प्रस्ताव राखेका थिए। यद्यपि ग्लेजरले क्लबको मूल्य ६ बिलियन पाउण्ड राखेका छन्।
६ सेप्टेम्बर २०२३ मा डेलिमेलमा एउटा रिपोर्ट प्रकाशित भयो। जसकारण युनाइटेडको सेयरको मूल्य १८ प्रतिशतले घट्न पुग्यो। युनाइटेडको बजार पुँजीकरणमा ६०० मिलियन पाउन्डभन्दा धेरैले गिरावट आयो। अहिले यसको मूल्य १० बिलियन पाउन्ड छ। डेलिमेलले ग्लेजर परिवारले युनाइटेडलाई शेयर बजारबाट हटाउने विषयमाथि विचार गरिरहेको दाबी गरेको थियो।
सन् २०१२ मा न्यूयोर्क स्टक एक्सचेन्जमा भएको क्लबको शेयर मूल्य गिरावटपछिको यो सबैभन्दा ठूलो गिरावट हो। सन् २०२० मा कोरोना भाइरसका कारण आएको गिरावटभन्दा अहिलेको गिरावट धेरै हो। फलस्वरुप युनाइटेडका प्रशंसक अहिले पनि ग्लेजर परिवारले १८ वर्ष अघि गरेको अधिग्रहणपछिको विनाशकारी कार्यकालको मूल्य गनिरहेका छन्।
(गोलडटकमबाट भावानुवाद गरिएको)


