काठमाडौ – सरकारले वार्ताका लागि बोलाए पनि विद्यालय बन्द गरेरै आन्दोलनको धम्कि दिएको शिक्षक महासंघले वार्तामा बस्न आनाकानी गरिरहेको छ। महासंघले वार्ताको औचित्य नरहेको भन्दै यसमा आफू अनिच्छुक रहेको प्रतिकृया सार्वजनिक गरेको छ। महासंघका पदाधिकारीले सोमबार राति अबेर सामाजिक सञ्जाल मार्फत् विज्ञप्ति सार्वजनिक गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
‘शिक्षा मन्त्रालयबाट जारी भएको विज्ञप्तिको आधारमा सामाजिक सञ्जालमा वार्ता आरम्भ भएको हो कि भन्ने भ्रमपूर्ण पोष्ट तथा अभिव्यक्ति आईरहेको विषयप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘बदलिएको यसस परिस्थितीलाई मध्यनजर गरी मन्त्रालयबाट सार्वजनिक विज्ञप्ति मार्फत् आह्वान भएको वार्ताले समाधान ननिस्कने हुनाले त्यो वार्तामा बस्नुको कुनै औचित्य देखिदैंन।’
विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी मंगलबार दिउँसो तीन बजेका लागि शिक्षा मन्त्री अशोक कुमार राईको संयोजकत्वमा हुने सरोकारवाला मन्त्रालयले जनाएको थियो। त्यसका लागि मन्त्रालयले महासंघलाई आग्रह समेत गरेको थियो।
तर, आफूहरुसँग यस अघि पटक पटक भएका सम्वाद र छलफल पछि पनि आफ्ना मुद्दाहरु विधेयकमा समावेश नभएकोले शिक्षा मन्त्रालयको एकल प्रयत्नमा सुधार र परिवर्तन हुन सक्ने कुनै सम्भावना नरहेको महासंघको तर्क छ।
मन्त्री राईले गत भदौ २७ गते विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक सदनमा दर्ता गरेसँगै महासंघको व्यानरमा सामुदायिक विद्यालयका शिक्षकहरुले विद्यालय बन्दको धम्कि दिएका थिए। उनीहरुले देशभरका विद्यालय बन्द गरी शिक्षकलाई काठमाडौमा उतारेर बुधबार प्रदर्शन गर्ने घोषणा गरेका छन्।
विद्यालय बन्द गर्ने धम्कि पछि शिक्षक महासंघको चौतर्फि आलोचना भईरहेको छ।


