काठमाडौं – उत्तर सिक्किममा टिस्टा नदीमा आएको बाढीका कारण सेनाका २३ सैनिक बेपत्ता भएका छन्।
गुवाहाटीमा रहेका सेनाका जनसम्पर्क अधिकृत लेफ्टिनेन्ट कर्णेल महेन्द्र रावतले घटनाको पुष्टि गरेका छन्।
हाल बेपत्ता सैनिकको खोजीका लागि उक्त क्षेत्रमा अपरेसन चलिरहेको छ भने मुख्यमन्त्री प्रेमसिंह तामाङले अवस्थाबारे जानकारी लिएका छन्।
सेनाले एक विज्ञप्ति जारी गर्दै उत्तर सिक्किमको लाहोनकमा लाचेन उपत्यकानजिक रहेको टिस्टा नदीमा अचानक बाढी आएको बताएको छ।
यसबाहेक चुङथाङ बाँधबाट पानी छोडेपछि तल्लो भागमा पानीको बहाव एकाएक १५ देखि २० फिटसम्म पुगेको छ।
केन्द्रीय जल आयोग को जानकारी अनुसार उत्तर सिक्किमको लाहनोट तालको पानीको स्तर मंगलबार मध्यरातमा बढेको हो।
बिहान ६ बजे पानीको सतह ८४ दशमलव ८३ मिटर रहेको र ६ घण्टाभित्र चेतावनीस्तर नाघेको छ।
सिक्किम बिजेपी प्रदेश अध्यक्ष डिआर थापाले भने, ‘सम्पत्तिमा क्षति पुगेको छ। म सबै संस्थाहरूलाई सिक्किमलाई मद्दत गर्न अपील गर्दछु। मैले बिहानै स्थितिको जानकारी लिएको छु र फेरि गर्नेछु।’


