काठमाडौँ– अभिनेत्री उषा रजकले अभिनेता राजेश हमाल लक्षित अभिव्यक्तिप्रति माफी मागेकी छन्। ‘राजेश हमाल ओभररेटेड एक्टर’ भएको भन्दै आलोचना गरेकी उषाले अन्ततः हमालसँगै माफी मागेकी छन्।
रजकको यस्तो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा बहस भएको थियो।
‘अरु कसैलाई दोष नदिई, कुनै बहाना नबनाउँदै म मनदेखि माफी माग्दछु। आखिर शब्द मेरै हुन्: मैले भनेको कुराको लागि म आफैँ माफी माग्दछु,’ हमाललाई ट्याग र नमस्कारको इमोजी सहित उषाले लेखेकी छन्।
आफूले गरेका टिप्पणी कमेडी कार्यक्रममा गरिएका तर गम्भीरतापूर्वक लिइएको उनको जिकिर छ। आफूले हमालको बौद्धिकता, महान कार्य र योगदानबारे भनेपनि ती अभिव्यक्ति डिजिटल रूपमा हटाइएको उनको आरोप छ।
रजकको यस्तो अभिव्यक्तिलाई लिएर हमालका फ्यान उनीमाथि खनिएका थिए। यसपछि उनले गुनासो पनि गरेकी छन्। आफूले कहिल्यै नसुनेका शब्दमार्फत् गाली गरिएको उनको दुखेसो छ।
‘मैले त्यस्तो के भनेँ र, नेपाली दाजुभाइ ममाथि यसरी खनिनु भयो? शब्द यस्तो प्रयोग भयो कि, कहिले नसुनेको नीच शब्दहरुको अर्थ बुझ्न गुगल गर्नुपर्यो। पढ्नु हुन्न थियो कमेन्ट, तर दर्शक सँग सधैं एकै तहमा सम्बन्ध राख्न रुचाउँछु। राजेश दाईको फ्यान यस्तो नीच हुन सक्दैन,’ उनले फेसबुकमा लेखेकी छन्।
रजक केही दिनअघि अर्का अभिनेता तथा निर्देशक अनुप बरालविरुद्ध पनि आक्रामक सुनिएकी थिइन्।
‘कुसुमे रुमाल २’बाट अभिनयमा डेब्यु गरेकी रजकले ‘इकु’, ‘कथा’, ‘कठपुतली’ र ‘वान डे’मा अभिनय गरेकी छन्।


