२०८३ कार्तिक १२ गते बुधबार

इजरायल–प्यालेस्टाइन युद्ध : यी हुन् पछिल्लो सय वर्षका मुख्य घटनाक्रम

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ११
pale

इजरायल–प्यालेस्टाइन युद्धले लाखौं मानिसको ज्यान लिएको छ, दशौं लाखलाई घरबारविहीन बनाइसकेको छ। यो क्रम अझसम्म पनि रोकिएको छैन।

प्यालेस्टाइनी क्षेत्र गाजाबाट ७ अक्टोबरमा हमास समूहले आश्चर्यजनक रुपमा इजरायलमाथि हमला गर्दै ८ सयभन्दा धेरै व्यक्तिको ज्यान लियो। दक्षिणी इजरायलका धेरै सहरमा एकसाथ हमला गरिएको थियो। जवाफमा इजरायलले पनि हमासविरुद्ध युद्ध घोषणा गर्दै विगत दुई सातादेखि गाजापट्टीमा लगातार हमला गरिरहेको छ। युद्धको चपेटामा दुवैतर्फ (दक्षिणी इजरायल र गाजापट्टी)का सर्वसाधारण परेका छन्। गाजापट्टीमा यसअघिदेखि नै इजरायलको नाकाबन्दी थियो।

गत सोमबारबाट भने इजरायलले गाजामाथि पूर्ण रूपमा नाकाबन्दी गर्दै खाद्यान्न, इन्धन र अन्य आधारभूत उपभोग्य वस्तुको निर्यात समेत रोकिदिएको छ। यसले मानवीय संकट थप बढाएको छ।

यो संकटको बिऊ इतिहासमै रोपिएको थियो। युरोपमा यहुदीहरुप्रति घृणा बढ्न थालेसँगै सन् १८७० को दशकदेखि उनीहरु प्यालेस्टाइन बसाइँ सर्न थाले। ३ हजार वर्षभन्दा पहिलेदेखि यस भूमिमा आफ्नो पुर्खाको बसोबास रहेको युरोपबाट आएका यहुदीहरुको दाबी थियो। तर, यहाँ पुस्तौंदेखि बसिरहेका अरबीहरुलाई एकपछि अर्को गर्दै यहुदीहरु आफ्नो क्षेत्रमा घुसिरहेको मन परेको थिएन। जमिन धेरै, जनसंख्या कम भएकाले यहुदीको आगमनले सुरुमा खासै ठूलो समस्या भने निम्त्याइसकेको थिएन। यो क्षेत्र यतिबेलासम्म अट्टोमन साम्राज्यको हिस्सा थियो।

पहिलो विश्वयुद्धमा अट्टोमन साम्राज्य परास्त भयो, त्यसपछि यो क्षेत्र बेलायतको उपनिवेश बन्यो। बेलायतले विश्वयुद्धअघि प्यालेस्टाइनलाई अलग राज्यको मान्यता दिने वाचा अरबहरुसँग गरेको थियो। किनकि, त्यतिबेला प्रथम विश्वयुद्धमा अट्टोमनविरुद्ध लड्न प्यालेस्टाइनीहरुको साथ जरुरी थियो।

यता, विश्वयुद्ध सकिएपछि यहुदीहरुलाई ‘राष्ट्र निर्माणका लागि सहयोग गर्ने’ घोषणा गर्‍यो। किनकी, अमेरिकामा प्रभावशाली भूमिकामा रहेका यहुदीहरुलाई खुसी राख्न बेलायत चाहन्थ्यो। अन्त्यमा, सबैलाई खुसी राख्ने चक्करमा बेलायतले यहाँ कहिल्यै ननिभ्ने आगो सल्काएर गयो, जसलाई आज हामी ‘इजरायल–प्यालेस्टाइन युद्ध’ भनेर चिन्छौं।

यस युद्धको पछिल्लो एक सय ७ वर्षअघिदेखिको इतिहासलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले यसरी सिलसिलेवार रुपमा प्रस्तुत गरेको छ।

बाल्फोर घोषणा के हो?
-एक सय ७ वर्षअघि (२ नोभेम्बर १९१७) बेलायतका तत्कालीन विदेशमन्त्री आर्थर बाल्फोरले बेलायती यहुदी समुदायका अगुवा लियोनल वाल्टर रोथ्स्चाइल्डलाई सम्बोधन गरेर पत्र लेखेका थिए। केवल ६७ शब्दको यो छोटो पत्रमा प्यालेस्टाइनमा चलिरहेको कम्पनबारे उल्लेख थियो, यसको महसुस आज पनि भइरहेको छ।

-यो पत्रमा बेलायत सरकारले ‘प्यालेस्टाइनमा यहुदीहरुका लागि राष्ट्रिय घर बनाउन’ तथा ‘यस उपलब्धिलाई सहज बनाउनका लागि’ प्रतिबद्ध रहेको उल्लेख गरेको थियो। यस पत्रलाई बाल्फोर घोषणा नामले चिनिन्छ। यसरी, बेलायतले यहुदी आन्दोलनलाई एउटा त्यस्तो देश दिने वाचा गर्‍यो, जहाँ ९० प्रतिशतभन्दा धेरै जनसंख्या प्यालेस्टाइनी अरबहरुको थियो।

-१९२३ देखि १९४८ को अवधिमा बेलायतले युरोपबाट प्यालेस्टाइन बसाइँ जानका लागि यहुदीहरुलाई सहयोग गर्‍यो। दोस्रो विश्वयुद्ध र हिटलरको नाजी पार्टीको दमन चलिरहेका कारण पनि युरोप छाडेर भाग्ने यहुदीहरुको लर्को ठूलो थियो। यता, प्यालेस्टाइनीहरु आफ्नो देशमा भइरहेको परिवर्तनलाई लिएर सतर्क थिए, बेलायतले आफ्नो भूमी खोसेर यहूदीहरुलाई त्यहाँ स्थापित गरेको उनीहरुलाई मन परेको थिएन।

१९३० को दशकमा के भयो ?
-बढ्दो तनावले अन्ततः अरब विद्रोह जन्मायो। १९३६ देखि १९३९ सम्म विद्रोह चल्यो। अप्रिल १९३६ मा स्थापित अरब नेशनल कमिटीले प्यालेस्टाइनीहरुलाई आम हड्ताल सुरु गर्न आह्वान गर्‍यो। प्यालेस्टाइनीहरुले बेलायती उपनिवेश तथा यहूदी आप्रवासनको विरोध गर्दै कर नतिर्ने र यहुदीले उत्पादन गरेका सामाग्री बहिस्कार गर्ने काम गरे।

-६ महिना लामो पहिलो चरणको हड्ताललाई बेलायतीहरुले निर्मम ढंगले दबाए। यसक्रममा उनीहरुले ठूलो संख्यामा आन्दोलनकारीलाई पक्राउ गरे। त्यस्तै, धेरैको घर–बास ध्वस्त पारिदिए।

-दोस्रो चरणमा १९३७ को अन्त्यतिर विद्रोह सुरु भयो। प्यालेस्टिानी कृषकहरुले थालेको यो प्रतिरोधी आन्दोलनले बेलायती फौज र उपनिवेशवादलाई निशाना बनायो। १९३९ सम्म आइपुग्दा बेलायतले ३० हजारभन्दा धेरैजनालाई मारिसकेको थियो। गाउँहरुमा बम खसालिएको थियो। कफ्र्यु लगाइयो, घरहरु ध्वस्त पारियो र धेरैलाई बन्धक बनाइयो।

-बेलायतीहरुसँग मिलेर यहुदीहरुले प्यालेस्टाइनीसँग लड्न अर्धसैन्य दस्ता खडा गरे। यसलाई ‘स्पेशल नाइट स्क्वाड’ पनि भनिन्छ। गोप्य रुपमा यहाँ हतियार भित्र्याइयो र हतियार कारखानाहरु बिस्तार गरियो।

-विद्रोहका ३ वर्षमा ५ हजार प्यालेस्टाइनीहरु मारिए। १५ हजारदेखि २० हजार घाइते भए। ५ हजार ६ सयजना जेलमा परे।

राष्ट्रसंघको विभाजन योजना
-१९४७ सम्म प्यालेस्टाइनमा यहुदीको जनसंख्या ३३ प्रतिशत पुगिसकेको थियो। तर, उनीहरु केवल ६ प्रतिशतमात्रै भूमिमा थिए। प्यालेस्टाइनीहरुले यतिबेलासम्म ६७ प्रतिशत जनसंख्या र ९४ प्रतिशत भूमि ओगट्थे।

-संयुक्त राष्ट्रसंघले ‘समाधान : १८१’ अख्तियार गर्‍यो। जसअनुसार प्यालेस्टाइनलाई अरब र यहुदी राज्यका रुपमा टुक्राउने निर्णय भयो। प्यालेस्टाइनीहरुले यो योजना अस्वीकार गरे। किनकि, यस योजनाअनुसार झन्डै ५५ प्रतिशत जमिन यहुदी राज्यका लागि छुट्टयाइएको थियो, यसमा धेरैजसो खेतीयोग्य जमिन थियो।

१९४८ मा प्यालेस्टाइनमा जातीय सफाया
-मे १४, १९४८ मा बेलायती शासन समाप्त हुनअघि नै यहुदी अर्धसैनिक जत्थाहरुले यहाँ सैन्य अपरेसन थालिसकेका थिए। उनीहरुले प्यालेस्टाइनी शहर तथा गाउँहरु ध्वस्त गर्ने र त्यसमा नयाँ बन्न लागेको यहुदी देशको सीमा बिस्तार गर्ने काम गरेका थिए। जेरुसलेमबाहिरको देर यासिन गाउँमा अप्रिल १९४८ मा एक सयभन्दा धेरै पुरुष, महिला र बालबालिका मारिएका थिए।

-१९४७ देखि १९४९ सम्म यसरी ५ सयभन्दा धेरै प्यालेस्टाइनी गाउँ, बस्ती र शहरहरु ध्वस्त गरिए। अरेबिक भाषामा यस विध्वंशलाई ‘नक्वा’ भन्ने गरिन्छ। झन्डै १५ हजार प्यालेस्टाइनी मारिए। धेरै ठाउँमा नरसंहार भएको थियो। ७ लाख ५० हजार प्यालेस्टाइनीहरु घर छाड्न बाध्य भएका थिए। अहिले उनीहरुका नयाँ पुस्ता प्यालेस्टाइनमा रहेका ५८ वटा शरणार्थी शिविरमा मात्रै ६० लाख तथा छिमेकी लेवनान, सिरिया, जोर्डन र इजिप्टमा छन्।

-१५ मे १९४८ मा इजरायलले राष्ट्र स्थापनाको घोषणा गर्‍यो। अर्को दिन पहिलो अरब–इजरायल युद्ध सुरु भयो र जनवरी १९४९ मा इजरायल र अरब देश (इजिप्ट, लेबनान, जोर्डन र सिरिया) बीच युद्धविराम भयो। त्यसअघि डिसेम्बर १९४८ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले संकल्प प्रस्ताव : १९४ पारित गरेको थियो, जसमा प्यालेस्टाइनी शरणार्थी घर फर्किन पाउनुपर्ने माग गरिएको थियो।

-झन्डै १ लाख ५० हजार प्यालेस्टाइनी नयाँ गठित राज्य इजरायलमै बसे। तर, उनीहरुलाई झन्डै २० वर्षसम्म उच्च सैनिक निगरानीमा राखिएको थियो। त्यसपछि मात्रै नागरिकता दिइयो। इजिप्टले गाजापट्टी कब्जामा लियो र १९५० मा जोर्डनले वेस्ट बैंकमा आफ्नो शासन चलायो।

-१९६४ मा प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशन (पिएलओ) गठन भयो। त्यसको एक वर्षपछि फतेह राजनीतिक पार्टी स्थापना भयो।

६ दिने युद्ध
-५ जुलाई १९६७ मा अरब देशहरुको संयुक्त सेनासँगको ६ दिने युद्धका दौरान इजरायलले गाजा पट्टी, वेस्ट बैंक, पूर्वी जेरुसलेम, सिरियन गोलान हाइट्स र इजिप्टियन सिनाई पेनिन्सुलासहित बाँकी रहेका ऐतिहासिक प्यालेस्टाइनी भूभाग कब्जा गर्‍यो। यसपछि धेरै प्यालेस्टाइनी फेरि घर छाड्न बाध्य भए।

-डिसेम्बर १९६७ मा प्यालेस्टाइनलाई स्वतन्त्र गराउन भन्दै माक्र्सवादी–लेलिनवादी पपुलर फ्रन्ट गठन भयो। अर्को एक दशकसम्म बामपन्थी समूहले गर्ने आक्रमण, विमान अपहरणलगायत कर्तुतले विश्वको ध्यान खिच्यो , प्यालेस्टाइनीका दुख छायाँमा पर्‍यो।

-इजरायलले कब्जामा लिएको वेस्ट बैंक र गाजापट्टीमा पुनर्वास कार्यक्रम सुरु गर्‍यो। यहुदीहरुलाई इजरायली नागरिक भएकाले सबै किसिमका अधिकार र लाभहरु उपलब्ध थियो। जबकी, प्यालेस्टाइनीहरुले विभेद सहदैं सैनिक निगरानीमा बस्नुपर्‍यो। उनीहरुलाई राजनीतिक र जनअधिकारका कुरा उठाउन रोक थियो।

पहिलो आन्दोलन (१९८७–१९९३)
-डिसेम्बर १९८७ देखि गाजापट्टीमा आन्दोलन उठ्यो। प्यालेस्टाइनी कामदार बोकेका दुईवटा भ्यानसँग इजरायली ट्रक ठोक्किएर चार प्यालेस्टाइनीको ज्यान गएपछि यो आन्दोलन सुरु भएको थियो। आन्दोलन चाडैं वेस्ट बैंकमा पनि फैलियो, जहाँ युवा प्यालेस्टाइनीहरुले इजरायली सेना र सेनाका ट्यांकमा ढुंगा हान्न थाले।

-जवाफमा प्यालेस्टाइनीमाथि इजरायलले चरम यातना दियो। सर्वसाधारणका घरहरु ध्वस्त गरियो, विश्वविद्यालय बन्द भए, धेरैको हत्या भयो। तत्कालीन इजरायली रक्षामन्त्री यित्झाक रबिनको यो नीतिलाई ‘ढाड भाँच्ने नीति’ भनिएको थियो। हमासको अभियानको जग हाल्न पनि यो दमन सहयोगी बन्यो।

मे १४, १९४८ मा बेलायती शासन समाप्त हुनअघि नै यहुदी अर्धसैनिक जत्थाहरुले यहाँ सैन्य अपरेसन थालिसकेका थिए। उनीहरुले प्यालेस्टाइनी शहर तथा गाउँहरु ध्वस्त गर्ने र त्यसमा नयाँ बन्न लागेको यहुदी देशको सीमा बिस्तार गर्ने काम गरेका थिए।

-१९८८ मा अरब लिगले पिएलओलाई प्यालेस्टाइनी जनताको एक्लो प्रतिनिधिका रुपमा मान्यता दियो। ठूलो संख्यामा मानिसहरुको परिचालन, विरोध प्रदर्शन, बहिस्कार अभियान, संयोजित हड्ताल र जातीय सहकार्यका कारण पनि यो आन्दोलन निकै लोकप्रिय बनेको थियो। इजरायली मानव अधिकारवादी संगठन बी सलेमका अनुसार १ हजार ७० जना प्यालेस्टाइनी यस आन्दोलनका क्रममा मारिएका थिए। जसमा २ सय ३७ जना बालबालिका थिए। त्यस्तै १ लाख ७५ हजार प्यालेस्टाइनीहरु पक्राउ परेका थिए। यो आन्दोलनले द्वन्द्वको समाधान खोज्नका लागि अन्तर्राष्ट्रिय समुदायलाई पनि दबाब दियो।

ओस्लो सम्झौता र प्यालेस्टाइनी प्राधिकरण
-१९९३ मा ओस्लो सम्झौता भएपछि यो आन्दोलन समाप्त भयो। प्यालेस्टाइनी प्राधिकरण नामक अन्तरिम सरकारले बेस्ट बैंक र गाजापट्टीमा सिमित अधिकारसहित स्व–शासन गर्न पाउनेगरी यो सम्झौता भएको थियो। पिएलओले इजरायललाई दुई–देशीय समाधानको आधारमा मान्यता दियो। र, इजरायललाई वेस्ट बैंकको ६० प्रतिशत भूभागमा नियन्त्रण दिने सन्धीमा सही गर्‍यो। यस इलाकाको अधिकतम जलस्रोत पनि उसकै नियन्त्रणमा थियो।

-पूर्वी जेरुसलेममा राजधानी राखेर वेस्ट बैंक र गाजापट्टीमा स्वतन्त्र राज्यको पहिलो निर्वाचित प्यालेस्टाइनी सरकार गठनका लागि प्यालेस्टाइनी प्राधिकरण (पिए) ले बाटो खोल्ने सोचिएको थियो, तर यस्तो कहिल्यै भएन।

-आलोचकहरु प्यालेस्टाइनी प्राधिकरणलाई इजरायलीहरुकै भ्रस्ट ठेकेदार मान्छन्। इजरायलविरुद्ध हुने राजनीतिक आन्दोलनलाई मत्थर गर्नका लागि उसले इजरायली सेनासँग नजिकबाट सहकार्य गर्ने गरेको उनीहरुको आरोप छ। १९९५ मा इजरायलले गाजापट्टीलाई घेर्नेगरी विद्युतीय तारबार तथा कंक्रिटको पर्खाल लगायो। टुक्रा–टुक्रा भएका प्यालेस्टाइनी भूभागबीच अन्तक्र्रिया टुट्यो।

दोस्रो आन्दोलन
-२८ सेप्टेम्बर २००० मा दोस्रो आन्दोलन सुरु भयो। जब इजरायलका तत्कालीन विपक्षी नेता एरियल सारोनले अल अक्सा मस्जिद परिसरको भ्रमण गरे। यतिबेला जेरुसलेमको पुरानो शहरमा हजारौंको संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो। इजरायली सेना र प्यालेस्टाइनी प्रदर्शनकारीबीच झडप हुँदा ५ जना प्यालेस्टाइनी मारिए। दुई दिनसम्म चलेको दंगामा २ सयजना घाइते भए। यो घटनाले प्यालेस्टाइनमा सशस्त्र विद्रोह व्यापक रुपमा फैलाउने काम गर्‍यो। आन्दोलनका दौरान इजरायलले प्यालेस्टाइनको अर्थव्यवस्था र प्रशासनिक ढाँचामा ठूलो क्षति पुर्‍याउने काम गर्‍यो।

-प्यालेस्टाइनी प्राधिकरणले शासन गरिरहेका क्षेत्रहरुमा इजरायलले फेरि कब्जा जमायो। त्यसपछि फेरि पुनर्वास कार्यक्रम गर्न र पर्खाल ठड्याउन थाल्यो। उसले प्यालेस्टाइनीका घरहरु ध्वस्त बनायो।

-पुनर्वास अवैध र अन्तर्राष्ट्रिय कानुन विपरीत छ। तर, पछिल्ला वर्षहरुमा हजारौं यहुदीहरु प्यालेस्टाइनीबाट चोरिएको भूमीमा बनाइएका कोलोनीमा पुनर्वासका लागि पुगेका छन्।

-प्यालेस्टाइनीका लागि क्षेत्रफल साँघुरो हुँदैछ। किनकी, नियन्त्रणमा रहेको वेस्ट बैंकको हिस्सामा बस्ने प्यालिस्टिनीले इजरायली सरह उपभोग गर्न पाउने भनेको केवल पूर्वाधार र सडक सुविधामात्र हो। प्यालेस्टाइनी शहरहरु भग्नावशेष भइसकेका छन्। दक्षिण अफ्रिकामा अपारथाइड शासनका दौरान अश्वेतहरु एक्लिएजसरी नै प्यालिस्टिनीहरु एक्लिएका छन्।

-ओस्लो सम्झौतामा हस्ताक्षर हुँदा वेस्ट बैंकमा झन्डै केवल १ लाख १० हजार यहुदीमात्रै थिए। अहिले यस क्षेत्रमा यहुदीको संख्या ७ लाखभन्दा धेरै पुगिसकेको छ।

प्यालेस्टाइनको विभाजन र गाजामा नाकाबन्दी
-पिएलओका नेता यासिर अराफतको २००४ मा निधन भयो। त्यसको एक वर्षपछि दोस्रो आन्दोलन टुंगियो। गाजापट्टीमा बसिरहेका इजरायली आप्रवासीहरुलाई हटाइयो। इजरायली सेना र ९ हजारजना आप्रवासीले यो क्षेत्र छाडेका थिए।

-एक वर्षपछि प्यालेस्टाइनीहरुले पहिलोपटक आम निर्वाचनमा भाग लिए। हमासले बहुमत ल्यायो । यद्यपी, फतेह र हमासबीच गृहयुद्ध निम्तियो। यो महिनौंसम्म चल्यो र सयौं प्यालेस्टाइनीहरुको मृत्यु भयो। हमासले गाजापट्टीबाट फतेहलाई खेद्यो। यता, प्यालेस्टाइनी अथोरिटी (पिए) को मुख्य पार्टी फतेहले वेस्ट बैंकका केही हिस्सामा आफ्नो नियन्त्रण कायम राख्यो।

-जुन २००७ मा इजरायलले जमिन, आकाश र समुद्रमार्फत गाजापट्टीमा नाकाबन्दी लगायो। हमासमाथि ‘आतंकवाद’ को आरोप लगायो।

गाजापट्टीमा युद्ध
-इजरायलले चारपटक गाजापट्टीमा ठूलो आक्रमण गरेको थियो : २००८, २०१२, २०१४ र २०२१ मा। हजारौं प्यालेस्टाइनी यसक्रममा मारिए। त्यसमा ठूलो संख्या बालबालिकाको थियो। दशौं हजार घरबारविहीन भए। स्कुल र अफिसका कार्यालय पनि ध्वस्त भए। पुनर्निमाण असंभव लाग्छ, किनकी नाकाबन्दीका कारण स्टिल, सिमेन्टलगायत निर्माण सामग्री गाजासम्म पुग्न पाउँदैन।

-सन् २००८ को आक्रमणमा इजरायलले अन्तर्राष्ट्रिय रुपमै प्रतिबन्धित फोस्फोरस ग्यासजस्ता हतियार प्रयोग गरेको थियो। २०१४ मा ५० दिनको अवधिमा इजरायलले २१ हजारभन्दा धेरै प्यालेस्टाइनीलाई मारेको थियो। यसमध्ये १४ सय ६२ जना सर्वसाधारण्ण, त्यसमा पनि ५ सयजना बालबालिका थिए।

-इजरायलीहरुले ‘अपरेशन प्रोटेक्टिभ एज’ नाम दिएको यस आक्रमणमा ११ हजार प्यालेस्टाइनी घाइते भएका थिए भने २० हजारभन्दा धेरै घरहरु ध्वस्त भएका थिए। त्यस्तै, ५ लाख मानिस घरबारविहीन भएका थिए।

प्रकाशित: २०८० कार्तिक ११ गते शनिवार ०९:५१
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना