तेलअबिब- इजरायल-हमास युद्ध २४औँ दिनमा प्रवेश गरेको छ।
अक्टोबर ७ मा गाजा क्षेत्रमा सक्रिय हमास समूहले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा साढे ९ हजारभन्दा बढी व्यक्ति मारिएको बीबीसीले उल्लेख गरेको छ।
हमासले इजरायली क्षेत्रमा आक्रमण गर्दा १४ सय जनाको मृत्यु भएको इजरायली पक्षको दाबी छ। यस्तै हमासले २२९ जनालाई बन्धक बनाएको पनि बताइएको छ।
उता गाजामा सरकार चलाउँदै आएको हमासको स्वास्थ्य मन्त्रालयले भने ८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको बताएको छ। मारिनेहरूमा ठूलो संख्यामा विदेशी नागरिकहरू पनि छन्।
यसैबीच गाजा क्षेत्रको इन्टरनेट र फोन सेवा भने विस्तारै लयमा फर्कन थालेको छ। इन्टरनेट सम्बन्धी जानकारी दिने प्लेटफर्म नेटब्लक्सले ट्विट गर्दै इन्टरनेट सेवा लयमा फर्कन थालेको बताएको हो।
यस्तै गाजा क्षेत्रमा पुगेका पत्रकारहरूले पनि इन्टरनेट सेवा प्रयोग गर्न मिल्न थालेको उल्लेख गरेका छन्।
त्यहाँको इन्टरनेट/टेलिकम्युनिकेसन कम्पनी पाल्टेलले पनि इन्टरनेट चल्न थालेको भन्दै एक्समा लेखेको छ।
शुक्रबार बेलुकादेखि गाजामा इन्टरनेट चलेको थिएन।
We are pleased to announce that telecommunication services (landline, mobile, and internet) in Gaza Strip, disrupted on Friday, October 27, 2023, due to the ongoing aggression, are gradually being restored.
1/2
— Paltel (@Paltelco) October 29, 2023
उता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमाससँगको युद्ध दोस्रो चरणमा प्रवेश गरेको चेतावनी दिएका छन्।
उनले हमाससँगको युद्ध लामो र कठिन हुने पनि उल्लेख गरेका छन्।
उनले हमास उन्मूलन गर्ने आफूहरूको मुख्य प्राथमिकता भएको समेत उल्लेख गरेका छन्।


