गाजापट्टीमा मानिसहरु अहिले भोकभोकै बाँचिरहेका छन्। औषधि, खाद्यान्न, पानी र बिजुलीको यहाँ अभाव छ। जसकारण झन्डै २३ लाख प्यालेस्टाइनीहरु भोकभोकै छन्। हमासले ७ अक्टोबरमा इजरायलमाथि हमला गरेपछि इजरायलले यहाँ पूर्ण नाकाबन्दी लगाएको थियो।
‘गाजामा आधारभूत आवश्यकताका वस्तुहरु उपलब्ध छैनन्। खाना र पानीकै कमी छ। मानिसहरु निकै कस्टकर रुपमा बाँचेका छन्,’ विश्व खाद्य कार्यक्रमका प्रवक्ता अबिर इटिफाले भने, ‘वेस्ट बैंकमा पनि अवस्था दिनहुँ बिग्रँदैछ।’
गाजामा कति सहयोग पुग्यो?
२१ अक्टोबरयता केवल ८४ वटा ट्रक मात्रै सहयोग सामाग्री बोकेर रफा हुँदै गाजा पुगेका छन्। ७ अक्टोबरदेखि द्वन्द्व सुरु भएयता इजरायलले नाका बन्द गरेर गाजामा हमला गरिरहेको थियो। त्यसयता, २१ अक्टोबरमा मात्रै रफा नाका खोलियो।
युद्ध सुरु हुनुअघिसम्म यस क्षेत्रका मानिसहरुका लागि सहयोग सामाग्री बोकेर झन्डै ५ सयवटा ट्रक दिनहुँ आउँथे। अहिले आइरहेका थोरै सहयोग सामाग्रीमा पनि इन्धन समावेश छैन। जबकी, अस्पताल सञ्चालन गर्न, पानी तथा ढलको व्यवस्थापन र बिजुलीका लागि इन्धन अत्यावश्यक छ।
‘मानविय सहयोग नपाएसम्म मानिसहरु भोकै रहनेछन्। हामीलाई धेरै धेरै ट्रक (सहयोग सामाग्री बोकेका) चाहिएको छ,’ विश्व खाद्य कार्यक्रमकी कार्यकारी निर्देशक सिन्डी म्याकेनले भनिन्।

कति सहयोग आवश्यक छ?
विश्व खाद्य कार्यक्रमका अनुसार २१ अक्टोबरमा रफा खुलेयता भित्रिएका ट्रकमा १ सय ४१ टन खाद्यान्न (क्यानमा प्याक गरिएको माछा र सनफ्लावर तेललगायत) छ।
इजरायलले गाजाको उत्तरबाट दक्षिणतर्फ बसाइँ सर्न निर्देशन गरेका ११ लाख प्यालेस्टाइनीहरुका कम्तिमा ४० ट्रक खाद्यान्न सामाग्री आवश्यक पर्ने विश्व खाद्य कार्यक्रमले जनाएको छ। यसका लागि सहयोग कार्यक्रमलाई तिव्र रुपमा बढाउनुपर्ने खाद्य कार्यक्रमका अधिकारीहरु बताउँछन्।
विश्व खाद्य कार्यक्रमले के गर्दैछ?
इजिप्टसँगको सीमामा ४० वटा ट्रकहरु गाजा छिर्ने प्रतिक्षा गरेर बसेका छन्। त्यस्तै, ९ सय ३० टन खाद्यान्न भण्डारण गरिएको छ। ट्रकमा क्यानमा राखिएको माछा, पास्तासहितको खाद्यान्न पार्सल, गहँु, गेडागुडीलगायत खाद्यान्न छन्।
विश्व खाद्य कार्यक्रमले आपत्कालीन अवस्थामा गाजा र वेस्ट बैंकका ६ लाख २८ हजार ५ सयभन्दा धेरै मानिसलाई खाद्यान्न र नगद सहयोग गरेको छ। त्यसैगरी, राष्ट्रसंघको आश्रय शिविरमा बसेका झन्डै ४ लाख ७५ हजार मानिसलाई खाद्य कार्यक्रममार्फत माछा, रोटीलगायत खाद्यान्न उपलब्ध गराइएको छ।
गाजामा बिजुली र इन्धन अभावका कारण रोटीको आपुर्ति कम हुँदैछ। गाजामा रहेका ५ वटा अन्न मिलमध्ये अहिले एउटामात्र सञ्चालनमा छ। विश्व खाद्य कार्यक्रमले दैनिक २ लाख २० हजार मानिसलाई २३ वटा बेकरीहरुमार्फत उत्पादीत आहार दिदैं आएको थियो। अहिले यसमध्ये दुईवटा बेकरीले मात्रै कार्य सञ्चालन गरिरहेका छन्। उनीहरुले आफ्नो क्षमताको ६ गुणा बढी उत्पादन गरिरहेका छन्।
हमासको आक्रमणअघिको अवस्था
हमासले आक्रमण गर्नुअघि (७ अक्टोबर पहिले) प्यालेस्टाइनको जनसंख्याको ३३ दशमलव ६ प्रतिशत अर्थात् १८ लाख ४० हजारले ले खाद्यान्नको संकट झेलिरहेको थियो। विशेषगरी गाजापट्टीका महिलामा खाद्य असुरक्षा अत्यधिक छ , यहाँ महिलाको नेतृत्वमा रहेका ६३ दशमलव ३ प्रतिशत परिवारमा खाद्य असुरक्षा छ। ७ अक्टोबरपछि इजरायलले यहाँ पानीको पाइपलाइन काटिदियो।
त्यसैगरी इन्धन र बिजुलीको आपुर्ति पनि बन्द भयो। यहाँ प्रदूषित पानी तथा सरसफाईको कमीका कारण हैजा र अन्य घातक संक्रामक रोगहरु फैलनसक्ने चेतावनी राष्ट्रसंघका एजेन्सीहरुले दिइसकेका छन्। समयमै मानवीय सहयोग र राहतका सामाग्री पु¥याउनुपर्ने आवश्यकता उनीहरुले औल्याएका छन्।
–अलजजीराबाट


