२०८३ कार्तिक ११ गते मङ्गलबार

अप्ठेरोमा मात्र महामन्त्री समाउँछन् देउवा

 |  तीर्थराज बस्नेत
Sanket

तीर्थराज बस्नेत

काठमाडौँ, चैत २२
gagan bishow sher

काठमाडौँ- प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रतिष्ठाको लडाइँ मानेको उपनिर्वाचनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई खटाएको छ। वैशाख १० गते हुने उपनिर्वाचनमा कांग्रेसले महामन्त्रीद्वयलाई चुनावी कमान्डर बनाएको हो। महामन्त्री थापालाई तनहुँ-१ मा र शर्मालाई चितवन-२ को जिम्मेवारी पार्टीले सुम्पिएको छ। उपनिर्वाचन हुने बारा-२ मा भने कांग्रेसले जनता समाजवादी पार्टीलाई समर्थन गरेको छ।

तीन क्षेत्रमा हुन लागेको उपनिर्वाचनबाट प्राप्त हुने नतिजाले सरकार निर्माणमा खास फरक नपार्ने भएपनि दलहरूले भने प्रतिष्ठाको विषय बनाएका छन्। कांग्रेस नेताहरूका शब्दमा उपनिर्वाचन सो पार्टीका लागि ‘गर वा मर’को स्थिति हो।

तनहुँ-१ मा कांग्रेस आफैँले राजनीतिक स्पेस र अवसर दिएका अर्थविद् डा स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्। मंसिर ४ कै निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहेका वाग्लेलाई कांग्रेसले टिकट दिएन। उपनिर्वाचनमा पनि टिकट नपाउने पक्का भएपछि ५ वर्षपछि कांग्रेसबाटै चुनाव लड्न सार्वजनिक अभिव्यक्ति विपरीत उनले बाटो मोडे। अझ उनले कांग्रेस छाड्दै गर्दा केही संगीन आरोप लगाएका छन्।

डा स्वर्णिम वाग्ले।

‘देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो। पछिल्ला वर्षमा कांग्रेस पार्टीभित्रका गतिविधि नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ,’ उनले भनेका छन्, ‘जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।’

उनको आरोप यतिमा मात्रै सीमित रहेन, चुनावमा टिकट र मालदार मन्त्रालयमा करोडौंको डिल हुने गरेको दाबी समेत गरे। ०४२ साल देखि क्रियाशील रहेको (वाग्लेकै भनाइ अनुसार) पार्टीलाई आरोपको आगो झोसेर रास्वपा रोजेका उनी तनहुँ-१ मा उम्मेदवार बने। वाग्लेले गम्भीर आरोप लगाएर रास्वपा रोजेपछि कांग्रेस आलोचित समेत बनेको छ।

तीन क्षेत्रमा हुन लागेको उपनिर्वाचनबाट प्राप्त हुने नतिजाले सरकार निर्माणमा खास फरक नपार्ने भएपनि दलहरूले भने प्रतिष्ठाको विषय बनाएका छन्। कांग्रेस नेताहरूका शब्दमा उपनिर्वाचन सो पार्टीका लागि ‘गर वा मर’को स्थिति हो।

पछिल्लो समय कांग्रेसमाथि चुनौती समेत थपिँदै गएका छन्। जसले चुनावी परिणामलाई समेत असर गर्न सक्ने बुझाइ कतिपयको छ। सोही कारण कांग्रेसले महामन्त्रीद्वयलाई उपनिर्वाचनको कमाण्डर बनाएर मैदानमा खटाएको हो। महामन्त्रीद्वयको पब्लिक इमेज र वाकपटुतालाई उपयोग गर्ने नीति कांग्रेसले लिएको छ। कांग्रेस चितवन-२ मा परिणाम आफ्नो पक्षमा पार्न प्रयास गर्ने र तनहुँ-२ लाई जोगाउने रणनीतिमा छ। राजनीतिक परिदृश्य हेर्दा अहिलेको स्थिति कांग्रेसका लागि अनुकुल देखिँदैन। प्रतिकुल स्थितिलाई अनुकुल बनाउन सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयलाई मैदानमा खटाएका हुन्।

कांग्रेसभित्र पछिल्ला दिनमा अर्को पनि बहस चलिरहेको छ। अनुकल समयमा महामन्त्रीद्वयलाई निर्णयप्रकियामा प्राथमिकता नदिने गरेको आरोप कांग्रेस नेतृत्वमाथि छ। तर प्रतिकूल समयमा पार्टीको शाख जोगाउन जिम्मा महामन्त्रीद्वयलाई दिएको टिप्पणी कांग्रेस नेताहरूकै छ।

‘अनुकुल समयमा निर्णयप्रक्रियामा को हाबी हुन्छ? महामन्त्रीहरूलाई कति स्पेस दिइन्छ, त्यो सबैले बुझेका छन्। एउटा इमेज भएको युवालाई मन्त्री बनाउन लबिइङ गर्दा पनि नेतृत्वले नसुनेको अवस्था देखिएकै छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘यद्यपि उहाँहरू पार्टीभित्रका पब्लिक इमेज भएका, फेस भ्याल्यू भएका र भविष्य समेत बोकेका नेताहरू हुनुहुन्छ। त्यसकारण उपनिर्वाचनमा उहाँले कमान्ड गर्नु स्वाभाविक हो। तर पार्टीका निर्णय प्रक्रियामा नेतृत्वले निरिह बनाउन हुँदैन भन्ने हो।’

महामन्त्रीद्वयले सरकारमा पार्टीको तर्फबाट मन्त्री पठाउँदा प्रदीप पौडेलका पक्षमा लबिइङ गरेका थिए। युवा र ‘पब्लिक इमेज’ भएका पौडेललाई सरकारमा पठाउनुपर्ने उनीहरूको तर्क थियो। नागरिकमा बढेको निराशालाई आशामा बदल्न फ्रेस मान्छेलाई सरकारमा पठाउनु पर्ने तर्क उनीहरूको थियो। कम्तीमा एकजना मात्रै भएपनि युवा र आशा जगाउने पात्रलाई सरकारमा पठाउनुपर्ने भन्दै महामन्त्रीद्वयले पौडेलको नाम प्रस्ताव गरेका थिए।

शेखर समूहको असहमति र गगनको चेतावनीका कारण कांग्रेसले पाएको ८ मन्त्रालयमध्ये देउवाले ४ जनालाई मात्रै सरकारमा पठाएका छन्। जसका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

महामन्त्रीद्वयको प्रयासका बाबजुद सभापति देउवाले पौडेललाई यसपटक मन्त्री बनाउन नसकिने जवाफ फर्काएका थिए। पार्टीभित्र मन्त्री छान्ने रस्साकस्सी चलिरहँदा चैत १५ गते महामन्त्री थापाले सभापति देउवासँग छलफल गरेका थिए। देउवाको अस्थायी निवास धुम्बाराहीमा गगनले प्रदीपलाई मन्त्री बनाउने आग्रह गरेका थिए। ‘नागरिकमा चरम निराशा छ। त्यसलाई चिर्न युवा र पब्लिक इमेज पनि राम्रो भएका सांसदलाई मन्त्री बनाऔँ,’ गगनले देउवासँग भनेका थिए, ‘सबै सकिँदैन भने कम्तीमा १ जना मात्रै भएपनि पठाऔँ, प्रदीप मन्त्री बन्न उपयुक्त पात्र हुन्।’ जवाफमा देउवाले भनेका थिए, ‘यसपटक प्रदीपलाई मन्त्री बनाउन सकिँदैन यार!’

गगनले आफैँ अर्थमन्त्री बन्ने इच्छा व्यक्त गर्दा स्वास्थ्यमन्त्री बन्न सुझाएका देउवाले प्रदीपको नाममा पनि सहमति नजनाएपछि गगनले देउवालाई चेतावनीयुक्त भाषा प्रयोग गरेर धुम्बाराहीबाट बाहिरिएको स्रोतको दाबी छ। ‘म पनि पार्टीको महामन्त्री हो। गोजीबाट निकाएका मन्त्रीका नाममा मेरो सहमति हुँदैन। भागबन्डामा पनि मेरो चित्त बुझेको छैन। मनपरी मन्त्री कसरी बनाउनुहुँदो रहेछ म पनि हेरौँला।’

गगन थापा।

शेखर समूहको असहमति र गगनको चेतावनीका कारण कांग्रेसले पाएको ८ मन्त्रालयमध्ये देउवाले ४ जनालाई मात्रै सरकारमा पठाएका छन्। जसका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

त्यसो त गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेसभा सदस्य निर्वाचनमा एकल प्रतिस्पर्धा गर्नुपर्ने मत राखेका थिए। तर उनीहरूको प्रस्ताव अस्वीकृत बनेको थियो। निर्वाचनपछि सरकार गठनको विषयमा प्रधानमन्त्री को बन्ने भन्ने विषयलाई पेचिलो बनाउन नहुने तर्क महामन्त्रीद्वयको थियो। ‘चुनावमा गठबन्धन गरेर जानै हुन्थेन। तर हामी गठबन्धन गरेर गयौँ। अब प्रधानमन्त्री को बन्ने भन्ने विषयले गठबन्धन टुट्न हुन्न,’ उनीहरूले भनेका थिए। त्यो बेला महामन्त्रीद्वयलाई गठबन्धनका बैठकमा सहभागी गराइएको थिएन। प्रधानमन्त्री देउवा बन्ने कि प्रचण्ड बन्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा पुस १० गते कांग्रेस र माओवादीसहितको गठबन्धन टुटेको थियो।

अप्ठ्यारोमा महामन्त्री अघि सार्छन् देउवा
चुनौतीपूर्ण मानिएको उपनिर्वाचनमा महामन्त्रीद्वयलाई कांग्रेसले भूमिका दिएको छ। यसले उम्मेदवारलाई सरह चुनौती महामन्त्रीद्वयलाई पनि परेको छ। चुनावी कमान्डर बनेकाले गगन र विश्वका लागि यो उपनिर्वाचन अग्निपरीक्षा बन्ने देखिएको छ।

राजकाज र पार्टीका महत्वपूर्ण निर्णयमा सकेसम्म उपेक्षा गर्ने तर प्रतिकूल अवस्थामा भने महामन्त्रीलाई अघि सार्ने गरेको कांग्रेसकै युवा नेता बताउँछन्। उपनिर्वाचन कांग्रेसका लागि चुनौतीपूर्ण भएका कारण यसपटक गगन र विश्वप्रकाश अग्निपरीक्षा दिन गइरहेको विश्लेषक गेजा शर्मा वाग्ले बताउँछन्। कांग्रेसको भविष्य र रूपान्तरणका लागि गगन र विश्वप्रकाशको प्रोएक्टिभ, सार्थक र हस्तक्षेपकारी भूमिका आवश्यक रहेपनि कांग्रेसले उनीहरूलाई ‘पोस्टर ब्वाई’का रुपमा मात्रै अघि सार्न खोजेजस्तो देखिएको उनको तर्क छ।

‘अहिलेको उपनिर्वाचनमा पनि कांग्रेसले गगनजी र विश्वजीलाई ‘पोस्टर ब्वाई’ बनाउन खोजेको देखिन्छ। कांग्रेसले पनि उहाँहरूलाई केवल ‘पोस्टर ब्वाई’ मात्रै बनाउनु भएन। उहाँहरू पनि ‘पोस्टर ब्वाई’मा मात्रै सीमित रहनु भएन। कांग्रेसको भविष्य र रूपान्तरणका लागि उहाँहरूले पार्टीमा थप प्रोएक्टिभ, सार्थक र हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु अपरिहार्य छ,’ वाग्ले भन्छन्, ‘अहिलेको गगनजी र विश्वजीको जिम्मेवारी चुनौतीपूर्ण छ। यदि तनहुँ र चितवनको उपनिर्वाचनमा पार्टीलाई जिताउन सफल हुनु भयो भने उहाँहरू पार्टीमा थप सशक्त नेताको रुपमा स्थापित हुनुहुनेछ। त्यसैले कांग्रेस र उहाँहरूको भविष्य दुवै दृष्टिले यो उपनिर्वाचन उहाँहरूको लागि अग्निपरीक्षा हो।’

विश्लेषक गेजा शर्मा वाग्ले।

राजनीतिक अध्येता शंकर तिवारी भने पार्टीको आन्तरिक विषय र जनतामा जाने कुरा फरक भएको बताउँछन्। उनी अहिले कांग्रेस र महामन्त्रीद्वयको राजनीतिक भविष्यमा समेत चुनौती देखिएकाले त्यसलाई चिर्न उनीहरूकै महत्वपूर्ण भूमिका हुने तर्क गर्छन्।

‘कांग्रेसका लागि यो चुनाव चुनौतीपूर्ण हो। चुनौतीपूर्ण अवस्थामा पब्लिकमा जसको भ्वाइस बिक्छ, उसैलाई खटाउने हो। पार्टीभित्र आफ्नो अवस्थाभन्दा पार्टी माथि आएको चुनौती ठूलो हो भनेर महामन्त्रीहरूले यसलाई सहजतापूर्वक लिएर चुनावी मैदानमा गएका जानु भएको छ,’ उनले भने, ‘महामन्त्रीहरूलाई राम्रो ज्ञान के छ भन्दा पार्टी सभापतिको समय धेरै छैन। यो बीचमा पार्टीलाई थप क्षयीकरणाबाट जोगाउने नेताहरू पनि यिनै हुन्। पार्टीको भविष्यका लागि लड्न जुध्न तयार भएको देखिन्छ। सोही कारण उहाँहरू जमिनमा गएर जनुसुकै चुनौती मोल्न पनि तयार देखिनुहुन्छ।’

कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्वमा दाबी गर्ने अवस्थामा पुगेका महामन्त्रीद्वयले पार्टीलाई थप क्षयीकरण हुनबाट रोक्ने र त्यसका लागि चुनौती मोल्ने कुरालाई स्वाभाविक रूपमा हेर्नुपर्ने तिवारीको भनाइ छ। ‘४ वर्षपछि पार्टीको बागडोर सम्हाल्ने बेला पार्टीको स्थान अझ मजबुत रहनुपर्छ भनेर उहाँहरू मैदानमा जानु भएको हो,’ तिवारी भन्छन्, ‘पार्टीको आन्तरिक झगडा र जनतामा जाने कुरा अलग हो। र उहाँहरूले पनि त्यही रुपमा बुझेको देखिन्छ।’

उपनिर्वाचनमा मात्रै होइन। गत वर्ष एमसीसी प्रकरणमा भएको विवाद उत्कर्षमा पुग्दा तत्कालीन पाँच दलीय गठबन्धन जोगाउन र एमसीसी पारित गराउने सन्दर्भमा पनि देउवाले गगनलाई अघि सारेका थिए। एमसीसीमा दलको सहमति जुटाएर संसदबाट अनुमोदन गराउनु चुनौतीपूर्ण काम थियो। एमसीसीका पक्षमा बोल्दा ‘खलनायक’का रुपमा चित्रित गरिने समय पनि थियो। त्यही समयमा थापालाई देउवाले अघि सारेका थिए। थापाले पनि महत्वपूर्ण भूमिका खेले। सत्तासाझेदार दलदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूसँग संवाद गर्ने काम उनले गरेका थिए। एमसीसीलाई व्याख्यात्मक घोषणासहित पास गर्ने गगनले गरेको मध्यमार्गी प्रस्तावमा तत्कालीन गठबन्धनका दल सहमत भए। सोहीअनुसार एमसीसी अनुमोदन भयो।

२०७८ फागुन १२ गते महामन्त्री गगन थापासहितका नेतासँगै लिएर एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुगेका तत्कालन प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा। तस्बिर : रासस

‘गगनजी र विश्वजीको लोकप्रियता र सकारात्मक छविलाई जनतासँग जाने अस्त्रको रूपमा कांग्रेसले प्रयोग गर्ने रणनीति अख्तियार गरेको देखिन्छ। कांग्रेसले पार्टीका चुनौतीपूर्ण जिम्मेवारी र जनतासँग जाने जस्तो कठिन जिम्मेवारी गगनजी र विश्वजीलाई दिँदै आएको छ,’ वाग्लेले भने, ‘यसअघि एमसीसी प्रकरण होस् वा एसपीपी प्रकरणमा नै किन नहोस्, गगनजी र विश्वजीले निर्णायक भूमिका निर्वाह गर्दै आउनु भएको छ। स्थानीय निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेश सभा दुवै निर्वाचनका घोषणापत्र निर्माणको जिम्मेवारी पनि गगनजी र विश्वजीले नै पाउनु भएको थियो।’

पार्टीभित्रको निर्णय प्रकियामा भने औपचारिकताका लागि छलफल गरेपनि शीर्ष नेतृत्व हावी भएको वाग्लेको बुझाइ छ। चुतौतीपूर्ण जिम्मेवारी मात्रै महामन्त्रीद्वयलाई दिने गरिएको उनी बताउँछन्। ‘राजकाज र पार्टीका महत्वपूर्ण निर्णयमा भने उहाँहरूको भूमिका र ‘भनाइ’ जति हुनुपर्ने हो, त्यति भएको देखिँदैन। त्यस्ता विषय आउँदा चाहिँ पार्टी नेतृत्व पंक्तिले उहाँहरूलाई सकेसम्म उपेक्षा गर्ने गरेको देखिन्छ,’ उनले थपे, ‘औपचारिकताका लागि छलफल र सल्लाह गरेपनि निर्णय प्रक्रियामा शीर्ष नेतृत्व हाबी भएको देखिन्छ। अनुकुल परिस्थितिमा राजकाजलगायतका महत्वपूर्ण निर्णयमा शीर्ष नेतृत्व हावी हुने तर चुनौतीपूर्ण काम महामन्त्रीद्वयलाई सुम्पिने कांग्रेसको परम्पराकै रुपमा स्थापित भएको देखिन्छ।’

प्रकाशित: २०७९ चैत २२ गते बुधबार ०७:१७
Sanket

तीर्थराज बस्नेत

बस्नेत राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन १० दल सहमत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन प्रतिनिधि सभा प्रतिनिधित्व गर्ने १० दल सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक ती दलको बैठकले दाहाललाई विश्वासको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना