काठमाडौँ- गायक सुगम पोखरेलले माफी मागेका छन्। अस्ट्रेलियामा आयोजना भएको कन्सर्टमा दर्शकलाई माइक प्रहार गरेको विषयमा माफी मागेका हुन्। उनले, आफूबाट गल्ती भएको भन्दै आफू भावनामा बगेको उल्लेख गरेका छन्।
नेपाल ट्युबमा सरल गुरुङसँग कुराकानी गर्दै सुगमले आफू मानसिक रुपमा स्वस्थ रहेको पनि दाबी गरेका छन्।
‘म दर्शकसँग माफी माग्न चाहन्छु। मबाट गल्ती भएको हो। म बेसी भावनामा बहेँ। भगवान् दर्शकप्रति कहिल्यै पनि अनादर मैले गरेको छैन,’ सुगमले भनेका छन्, ‘म आज यही नेपाली समाजले बनाएको गायक हुँ। मैले पिउनु हुँदैनथ्यो। आइ एम सरी!’ उनले दुई हात जोडेर माफी मागेका छन्।
सुगमले आफूले मदिरा खान छाडेको बताउँदै एक महिनादेखि फेरि पिउन थालेको पनि उल्लेख गरेका छन्। सुगमले आफू खराब नभएको तर अहिले आफ्नो समय खराब भएको पनि बताएका छन्। सुगमले आफ्नो नियत खराब नभएको पनि बताएका छन्। आफूले उक्त दिनमा थोरै मदिरा सेवन गरेको भन्दै उनले दर्शकसँग माफी मागेका हुन्।
सुगमले आफू अझै पनि राम्रो मानिस बन्ने प्रयासमा रहेको बताएका छन्। उनले आफू मान्छे भएको र दोष अझै पनि रहेकाले त्यसलाई घटाउने प्रयासमा रहेको पनि उल्लेख गरेका छन्।
शनिबार अस्ट्रेलियाको एडिलेडमा भएको कन्सर्टमा मदिरा पिएर सुगमले दर्शकलाई माइक प्रहार गरेका थिए। भूकम्पले ज्यान गुमाएका नेपालीको सम्झनामा मौनधारण गर्न आग्रह गर्दा सुगम सम्हालिन सकेका थिएनन्। उनले दर्शकलाई अभद्र व्यवहार गरेको भन्दै विरोध भइरहेको छ।


