काठमाडौँ- विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले गाजाको सबैभन्दा ठूलो अस्पताल ‘श्मशानघाटजस्तै भएको बताएको छ। उत्तरी गाजामा रहेको अल-शिफा अस्पताल इजरायली डिफेन्स फोर्स(आईडीएफ) को आक्रमणको निशानामा परेको छ।
आईडीएफले हमासले अस्पतालको मुनि रहेको सुरुङबाट इजरायलविरुद्ध आक्रमणको षड्यन्त्र रचिरहेको आरोप लगाउँदै आएको छ। तर हमास र अस्पतालले भने त्यसको खण्डन गर्दै आएका छन्। डब्लूएचओका प्रवक्ता क्रिस्चियन लिन्डमायरले करिब ६ सय जनाले अस्पतालमा आश्रय लिइरहेको बताएका छन्।
‘अस्पतालभरि शवै शव छन्। जसको उचित व्यवस्थापन गर्न सकिएको छैन। शवलाई पुर्न वा मुर्दाघरमा लैजान सकिएको छैन,’ उनले भनेका छन्।
हमासको स्वास्थ्य मन्त्रालयले करिब ६५० बिरामीसहित करिब २ हजार ३ सय जना अस्पतालमा रहेको बताएको छ। अस्पतालका व्यवस्थापक डाक्टर मोहम्मद अबु सेलमियाले प्रतिबन्धका बाबजुद अस्पताल चलाउन निकै कठिन भएको बताएका छन्। उनले शवहरू कुहिन थालेको र कुकुरहरू पसेर खान थालेको समेत बताएका छन्। इजरायललले शवहरू व्यवस्थापनका लागि अनुमति नदिएको पनि उनको भनाइ छ।
विद्युत् कटौती हुँदा नवजात शिशुहरूको मृत्युसमेत भएको उनले बताए। बीबीसीसँगको कुराकानीमा उनले सात जना नवजात शिशुको अक्सिजन अभावले मृत्यु भएको जानकारी दिएका छन्।
गत अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेयता इजरायलले निरन्तर गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ। हमासको आक्रमणमा करिब १२ सयको मृत्यु भएको इजरायलले जनाएको छ। त्यस्तै इजरायलको आक्रमणमा परी ११ हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ। मारिनेमा ४ हजार ५ सयभन्दा बढी बालबालिका रहेका छन्।बिal


