काठमाडौं- सलमान खान, कटरिना कैफ र इमरान हासमी स्टारर फिल्म ‘टाइगर ३’ले आक्रमक व्यापारको सिलसिला कायमै राखेको छ। गत आइतबार रिलिज भएको फिल्मले मंगलबार भारतभरमा हिन्दी भर्सनमात्रै नेट ४३ करोड ५० लाख रुपैंयाँ कमाएको छ।
जुन रिलिजको दिन भन्दा ५० लाख बढी हो। फिल्मले पहिलो दिन हिन्दी भर्सनमा नेट ४३ करोड कमाएको थियो। सोमबार भने फिल्मले नेट ५८ करोड करोड आम्दानी गरेको थियो। फिल्मले तामिल र तेलुगी भर्सनमा पहिलो दिन १ करोड ५० लाख, दोस्रो दिन १ करोड २५ लाख र तेस्रो दिन पनि १ करोड २५ लाख गरी तीन दिनमा नेट ४ करोड कमाएको छ।
योसँगै फिल्मले भारतभरमा तीन दिनमा १ सय ४८ करोड ५० लाख कमाइसकेको छ। ओभरसिजको कमाइबारे निर्माण कम्पनी यशराज फिल्म्सले आधिकारी जानकारी दिइसकेको छैन। आदित्य चोपडाले निर्माण गरेको यो फिल्मलाई मनीष शर्माले निर्देशन गरेका हुन्।


