क्यालिफोर्निया (संयुक्त राज्य अमेरिका)- अमेरिका र चीनले बढ्दो तनाव कम गर्ने प्रयास थालेका छन्। दुवै देश सैन्य संचार पुन: सुरु गर्न सहमत भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्।
‘हामी प्रत्यक्ष, खुला, स्पष्ट सञ्चारमा फर्केका छौं,’ बुधबार क्यालिफोर्नियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटपछि राष्ट्रपति बाइडेनले भने। पछिल्लो एक वर्षको अवधिमा उनीहरूबीच भएको यो पहिलो भेट हो।
क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को नजिकै कन्ट्री एस्टेटमा भएको भेटपछिको पत्रकार सम्मेलनमा बाइडेनले सञ्चारको अभावले दुर्घटना हुन सक्ने बताएका थिए। दुवै राष्ट्रपतिहरू अब ‘फोन उठाउन’ सहमत भएका छन्।
गत वर्ष तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले सैन्य सञ्चार सम्बन्ध विच्छेद गरेको थियो। अमेरिका स्वतन्त्र ताइवानका पक्षमा छ भने बेइजिङले ताइवानलाई आफ्नै देशको स्वशासित क्षेत्रका रूपमा लिने गरेको छ। आवश्यक भएमा बल प्रयोग गरेर यसलाई गाभ्ने धम्की दिँदै आएको छ।
दुवै देशबीच धेरै असहमति रहँदारहँदै पनि सीले केही विषय प्रष्ट राखेको पनि उनले उल्लेख गरेका छन्। दुवैबीच भएको वार्ता र कुराकानी रचनात्मक भएको उनको भनाइ छ। ‘हामीबीच रचनात्मक र उत्पादनमूलक भएको छ,’ उनले भने।
तर सम्बन्ध अझै कठिन रहेको कुराको पनि संकेत बाइडेनले गरेका छन्। एक पत्रकारको प्रश्नको जवाफमा उनले सीलाई ‘तानाशाह’ भएको समेत आरोप लगाए।
‘उनी यस अर्थमा ‘तानाशाह’ हुन् कि उनी देश चलाउने व्यक्ति हुन् …। सरकार निर्माणका आधारमा कुरा गर्दा उनी हाम्रो भन्दा पूर्णतया फरक शासन प्रणाली (कम्युनिजम) भएको देशमा छन्,’ उनले भने।
बाइडेनले जुनमा पनि यस्तै टिप्पणी गरेका थिए। तर चिनियाँ अधिकारीहरूले बाइडेनको उक्त अभिव्यक्तिप्रति आक्रोशित बनेका थिए। यस्तै उनीहरूले बाइडेनलाई गैरजिम्मेवार भएको समेत आरोप लगाएका थिए।
सैन्य संचार पुन: सुरु गर्नुका साथै दुवै पक्ष पछिल्लो समय बढ्दै गएका तनावका विषयमा पनि थुप्रै समझदारी बनाइएको घोषणा गरेका छन्।
यसमा चीनमा अमेरिकामा आपूर्ति भइरहेको फेन्टानिललाई पनि रोक्ने कदम पनि समावेश भएको बताइएको छ। अमेरिकामा पेनकिलरका रूपमा फेन्टानिलको अधिक प्रयोग (ओभरडोज)का कारुण मृत्यु वृद्धि भएको विभिन्न अध्ययनले देखाएका छन्।
चिनियाँ कम्पनीहरूले सिंथेटिक ओपिओइडमा मात्र नभएर फेन्टानिल बनाउने रसायन पनि उत्पादन गरिरहेको अमेरिकी पक्षको भनाइ छ। ‘हामी चीनबाट पश्चिमा देशमा आपूर्ति भइरहेका हानिनकारक रसायन र चक्कीको प्रवाहलाई उल्लेखनीय रूपमा कम गर्ने कदम चालिरहेका छौं,’ बाइडेनले भने।
सम्झौतामा चीनले त्यस्ता रसायन उत्पादक कम्पनीहरूलाई लक्षित गरी कार्यक्रम ल्याउने उल्लेख छ। ‘यसले जीवन बचाउनेछ,’ बाइडेनले पत्रकारहरूलाई भने।
दुई नेताले इजरायल र गाजाको द्वन्द्वबारे पनि छलफल गरेका थिए। एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार बाइडेनले इरानसँगको सम्बन्धलाई प्रयोग गर्न चीनलाई आग्रह गरेका थिए। इजरायली कारबाहीको पक्षमा रहेको अमेरिका इरानले इजरायलका विरुद्ध कुनै पनि प्रतिक्रिया नजनाइदेओस् भन्ने चाहन्छ।]

दुई देशका राष्ट्रपतिहरूले संयुक्त रूपमा कृत्रिम बुद्धिमत्ता (एआई)को परीक्षण पनि संयुक्त रूपमा गर्न सहमत भएको बताइएको छ। ताइवानका विषयमा पनि विस्तृत कुराकानी भएको अमेरिकी अधिकारीले बताएका छन्। तर सीले भने ‘अमेरिका-चीन सम्बन्धमा ताइवान मुद्दा सबैभन्दा ठूलो, सबैभन्दा खतरनाक मुद्दा’ भएको उल्लेख गरेको बताइएको छ।
वार्तापछि चीनले दुई सेनाबीचको सञ्चार पुनःस्थापना भएको र यो सम्बन्ध ‘समानता र सम्मानको आधारमा’ हुने पनि उल्लेख गरेको छ। ‘दुई देशको सफलताको लागि पृथ्वी पर्याप्त छ। एक देशको सफलता अर्को देशका लागि अवसर हो,’ सीले आफ्नो मन्तव्यमा भनेका थिए, ‘आपसी टकरावले दुवै पक्षका लागि असह्य परिणाम निम्त्याउँछ।’
एसिया-प्यासिफिक इकोनोमिक कोअपरेसन सम्मेलनबाट धेरै उपलब्धि हासिल हुने अपेक्षा गरिएको थियो। तरै दुवै पक्षका अधिकारीहरूले कुनै पनि ठूलो सफलता नभएको स्वीकार गरेका छन्।
‘प्रतिस्पर्धा व्यवस्थापन, द्वन्द्वको जोखिम कम गर्ने र सञ्चार सूत्र खुला रहेको सुनिश्चित गर्ने लक्ष्य थियो,’ एक जना अमेरिकी अधिकारीले भने।
फेब्रुअरीमा अमेरिकी हवाई क्षेत्रमा चिनियाँ जासूसको भनिएको बेलुन अमेरिकाले खसालिदिएपछि सम्बन्ध थप बिग्रिएको छ।
यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले जुनमा बेइजिङको भ्रमण गरेका थिए। उनी पछिल्लो पाँच वर्षमा चीन भ्रमण गर्ने सबैभन्दा उच्च अमेरीकी अधिकारी बने। उनले राष्ट्रपति सी र विदेशमन्त्री छिन ग्याङसँग भेटवार्ता गरेका थिए।
आफ्नो यात्राको अन्त्यमा ब्लिन्कनले दुई देशहरू बीच ठूला मुद्दा भएकाले आगामी दिनमा दुवै देशबीच संचार सम्बन्ध सकारात्मक हुने अपेक्षा गरेको बताएका थिए।
गत वर्ष नोभेम्बरमा सी र बाइडेनबीच भेट भएको थियो।
–बीबीसी


