काठमाडौं- सलमान खानको फिल्म ‘टाइगर ३’ बक्स अफिसमा सफल सावित भइसकेको छ। मनीष शर्माले निर्देशन गरेको यो फिल्म दिपावलीमा रिलिज भएको थियो। अब सलमान करण जोहरको प्रोजेक्टमा जोडिएका छन्।
सलमानले आफ्नो आगामी फिल्मको नामबारे खुलासा गरेका छन्। उनका अनुसार धर्माले बनाउने फिल्मको नाम’द बुल’ हुनेछ। करणको धर्मा प्रोडक्सनले निर्माण गर्ने फिल्मलाई विष्णुवर्धनले निर्देशन गर्नेछन्।
साउथका निर्देशक विष्णुवर्धन यसअघि धर्मा प्रोडक्सनकै फिल्म ‘शेरशाह’ बनाएका थिए। यो फिल्ममा सिद्धार्थ मल्होत्रा, कियारा आडवाणीको मुख्य भूमिका थियो। यही फिल्मबाट विष्णुले राष्ट्रिय अवार्ड जितेका थिए।
‘द बुल’ एक्सन थ्रिलर फिल्म हुनेछ। फिल्ममा सलमानले एक अर्धसैनिक अधिकारीको भूमिका निभाउनेछन्। सलमानले ‘द बुल’ पछि ‘दबंग’को चौथो पार्ट, ‘किक २’ र ‘प्रेम की शादी’ फिल्ममा काम गर्ने बताएका छन्।


