काबुल- अफगानिस्तानको पूर्वी लघमान प्रान्तको अलिसिङ जिल्लाको ग्रामीण भेगमा अवस्थित घरको छत खसेर एकै परिवारका ७ जनाको मृत्यु भएको छ।
प्राकृतिक प्रकोप व्यवस्थापन तथा मानवीय मामिलासम्बन्धी प्रान्तीय निर्देशक खैर मोहम्मद गाजीका अनुसार शुक्रबार अपराह्न माटोको घरको छानो खस्दा एकै परिवारका सात जनाको ज्यान गएको हो। दुर्घटनामा बाबुआमासहित ५ जना बालबालिकाको मृत्यु भएको छ।
परिवारकी आठ वर्षीया एक जना बालिका मात्र बाँच्न सफल भएकी तर उनको अवस्था पनि गम्भीर रहेको निर्देशक गाजीले बताएका छन्। घाइते ती बालिकाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
वर्षौँको युद्धले तहसनहस अफगानिस्तानका ग्रामीण क्षेत्रका घरहरू प्रायः माटोले बनेका छन्। भूकम्प, वर्षा र आँधीबेहरीलगायत प्राकृतिक प्रकोप झेल्न नसक्ने त्यस्ता घरमा बस्नेहरूको जीवन सधैँ जोखिमपूर्ण हुने गरेको छ।
अफगानिस्तानकै अर्को प्रसंगमा,राष्ट्रिय सुरक्षा बलले पूर्वी पक्तिमा प्रान्तमा लुकाएर राखिएका धेरै घातक हातहतियार फेला फेला पारेको छ। देशको गुप्तचर निकायले तीन थान एन्टिएयरक्राफ्ट गन, ११ थान एके ४७ राइफल, सात थान आरपीजी र हजारौँ गोली फेला पारिएको बताएको छ।
हालै सोही सुरक्षा बलले गस्तीका क्रममा पूर्वी नान्गाहार प्रान्तको कामा र गोश्ला जिल्लाबाट एके ४७ राइफलसहित विभिन्न किसिमका सानाठूला गरी एक सय ९७ थान हतियार बरामद गरेको थियो।



