काठमाडौं- सलमान खान, कटरिना कैफ र इमरान हासमी स्टारर फिल्म ‘टाइगर ३’लाई क्लिन हिटको ट्याग मिलेको छ। दिपावलीका दिन रिलिज भएको फिल्मले भारतमा २८० करोड नेट कलेक्सन र विश्वभरमा ४५० करोड भन्दा बढीको ग्रस कलेक्सन गरेपछि क्लिन हिटको भर्डिक्ट मिलेको हो।
यद्यपी फिल्मले आपेक्षाकृत व्यापार भने गर्न सकेन। यशराज फिल्म्स र निर्माता आदित्य चोपडाको अपेक्षा अनुसार फिल्मले व्यापार गर्न सकेन। फिल्मलाई दर्शकहरुले मिश्रित प्रतिक्रिया दिएका थिए। फिल्मको रिलिज डेट, भारतमा आयोजित एकदिवशीय विश्वकप क्रिकेट र आलोचकहरुले फैलाएको नेगेटिभीटीका कारण फिल्म निर्माण कम्पनीको अपेक्षामा खरो उत्रिन नसकेको बताइएको छ। सामान्यतयाः फिल्म शुक्रबार रिलिज गर्ने प्रचलन छ। तर यशराज फिल्मले ‘टाइगर ३’लाई आइतबार रिलिज गरेको थियो। सलमान खान खानको फ्यान फलोइङ र टाइगर फ्रेन्चाइजीको भ्याल्यूका कारण फिल्मले क्लिन हिटको ट्याग पाउन सफल भएको बलिउड हंगामाले जनाएको छ।
बलिउड हंगामाले स्रोतलाई हवला दिँदै प्रकाशित गरेको समचार अनुसार एशराज फिल्म्सको स्पाई यूनिभर्सको अर्को फिल्म ‘टाइगर भर्सेस पठान’ भने पछि धकेलिएको छ। निर्माता चोपडाले यो फिल्मको सुटिङ धकेल्ने निर्णय लिएका हुन्। ‘टाइगर भर्सेस पठानको सुटिङ २०२४ को मार्चमा सुरु गर्ने तयारी थियो। तर आदित्य चोपडाले दर्शकलाई उत्कृष्ट सामग्री पस्कने भन्दै स्क्रिप्टमा फेरी काम गर्ने निर्णय लिएका छन्, ‘ स्रोतलाई उल्लेख गर्दै बलिउड हंगामाले लेखेको छ, ‘फिल्मका निर्देशक सिद्धार्थ आनन्दले आगामी फिल्म फाइटरको पोस्ट प्रडक्सनको काम सकेपछि चोपडाले उनीसँग बसेर छलफल गर्ने तयारी गरेका छन्।’
चोपडाले आफ्नो ध्यान ‘टाइगर भर्सेस पठान’को स्क्रिप्टमा लगाउन चाहेको बताइएको छ। ‘टाइगर स्पाई यूनिभर्सको सबैभन्दा बरिष्ठ जासुस रहेको र उसलाई दर्शक रोमाञ्चित हुनेगरी पेश गर्ने तयारी चोपडाको छ। सलमान खान र शाहरुख खानको आमना-सामनालाई लिएर दर्शकको अपेक्षा धेरै हुने भएकाले चोपाडाले कुनै पनि कुरामा सम्झौता नगर्ने निर्णय लिएका छन्। सैहो कारण फिल्मलाई उत्कृष्ट बनाउन उनी लागि परेका छन्,’ समचारमा उल्लेख छ।
शाहरुखले हालै चोपडासँग यो फिल्मका बारेमा छलफल गरेका छन्। उनले फिल्मको कथालाई थप सुधार गर्न सकिने बताएका छन्। शाहरुखले स्पाई यूनिभर्सलाई प्राथमिकता दिन्छन्। यही युनिभर्सको फिल्म ‘पठान’बाट उनले कमब्याक मात्रै गरेनन्, आफ्नो छवि एक्सन हिरोकारुपमा परिवर्तित पनि गरे। सोही कारण उनी आगामी फिल्म ‘टाइगर भर्सेस पठान’ उत्कृष्ट बनोस् भन्ने चाहान्छन्।
फिल्मको फाइनल स्क्रिप्ट तयार भएपछि उनी सुटिङका लागि तयार हुने बताइएको छ। शाहरुखको जस्तै मत सलमानको पनि छ। ‘टाइगर भर्सेस पठान’ धकेलिने भएपछि सलमानले करण जोहरको फिल्म ‘द बुल’मा ध्यान केन्द्रीत गरेका छन्। यो फिल्मको सुटिङ फेब्रुअरीबाट सुरु हुनेछ। यो बीचमा शाहरुखले ‘द किङ’को सुटिङ गर्नेछन्। यो फिल्मको सुटिङ जनवरीबाट सुरु हुने बताइएको छ।
‘टाइगर भर्सेस पठान’ भने २०२५ मा फ्लोरमा जानेछ। यो फिल्म २०२६ मा रिलिज हुने सम्भावना छ।


