जाकार्ता- इन्डोनेसियाको मारापीमा ज्वालामुखी विस्फोट हुँदा हाइकिङ गएका ११ जनाको मृत्यु भएको छ। बिदा मनाउन हाइकिङ गएका उनीहरूको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।
विष्फोटमा परी १२ जना बेत्तपा भएका छन्। त्यहाँ ज्वालामुखी विस्फोट हुने क्रम जारी रहेकाले तत्कालका लागि खोजी कार्य रोकिएको उद्धारकर्ताले जानकारी दिएका छन्। स्थानीय खोज तथा उद्धार टोलीका प्रवक्ता जोडी हरयावानका अनुसार ज्वालामुखी विस्फोट हुँदा खोजी जारी राख्नु धेरै खतरनाक हुने भएकाले तत्कालका लागि रोक लगाइएको हो।
विष्फोट भएको बेला उक्त स्थानमा ७५ पदयात्रीहरू हाइकिङका लागि गएका थिए। तर धेरैजसोलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ।
माउन्ट मारापी इन्डोनेसियाका १२७ ज्वालामुखी पहाडमध्ये एक हो। विस्फोटका बेला आकाशमा ३ किलोमिटर माथिसम्म खरानी उडाएको थियो।
विस्फोट भएको स्थानबाट ३ किमी टाढै रहन इन्डोनेसियाली अधिकारीले आग्रह गरेका छन्।
सोमबार उद्धार गरिएका थप तीन जना खाडलको नजिक फेला परेका थिए। ‘उनीहरुको शरीरको केही भाग जलेको अवस्थामा उद्धार गरिएको थियो,’ पडाङ खोज तथा उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले भने।
यसअघि पनि सोमबारै ४९ जना आरोहीलाई बाहिर निकालिएको थियो। जसमध्ये धेरैको शरीर जलेको पनि थियो।
आइतबारको विष्फोटको भिडियो फुटेजमा ज्वालामुखी विस्फोटबाट निस्किएको खरानीको मुस्लो आकाशभरि फैलिएको र सडक ढाकेको देखिएको छ।
२ हजार ८९१ मिटर अग्लो माउन्ट मारापी इन्डोनेसियाको पश्चिमी सुमात्रा टापुमा अवस्थित छ।


