काठमाडौं- एक्सन मास एन्टरटेनर फिल्म ‘पठान’ र ‘जवान’को सफलतापछि शाहरुख खानका फ्यान ‘डंकी’को प्रतिक्षामा छन्। राजकुमार हिरानीले निर्देशन गरेको यो फिल्ममा शाहरुखको मुख्य भूमिका छ। कमेडी ड्रामा जनरामा बनेको फिल्ममा तापसी पन्नु, विक्की कौशल, बोमन ईरानी, विक्रम कोचर र अनिल ग्रोवरको पनि मुख्य भूमिका छ।
क्रिसमसको (२१ डिसेम्बर) अवसरमा रिलिज हुने फिल्मको ट्रेलर रिजिल भएको छ। ३ मिनेट २ सेकेन्ट लामो ट्रेलरको सुरुवातमा शाहरुख आफ्नो कथा भन्छन्। १९९५ मा पञ्जाबको लालतूबाट कथा सुरु हुन्छ। जहाँ उनले चार जना साथीसँग भेटेका थिए। ती चार जना साथी लन्डन जान चाहान्थे। उनले आफ्ना साथीहरुको काम बारे पनि ट्रेलरमा सुनाएका छन्। बल्ली, जो एक हजाम हुन्छन्। बग्गु कपडाको दोकान चलाउँछन्। सुखीलाई अंग्रेजी बोल्ने रहर हुन्छ। मनु उनको प्रेमिका हुन्छिन्।
ट्रेलरमा बोमन ईरानी अंग्रेजी शिक्षकको भूमिकामा देखिन्छन्। ट्रेलरको अन्तिममा शाहरुखलाई एक वृद्धको भूमिका देखाइएको छ। यो फिल्मलाई राजकुमार हिरानी, रेडचिल्ली इन्टरटेन्टमेन्ट र जियो स्टुडियोले बनाएका हुन्।


