काठमाडौं- २०२३ को सेप्टेम्बरमा शाहरुख खान स्टारर फिल्म ‘जवान’ ब्लकबस्टर बनेपछि एटली कुमार भारतीय सिनेमा उद्योगका सबैभन्दा माग भएका निर्देशक बनेका छन्। फिल्म उद्योगका जो कोही अभिनेता एटलीसँग काम गर्न इच्छुक देखिन्छन्। यो बीचमा एटलीले केही सुपरस्टारसाग छलफल समेत गरेका छन्।
यस्तोमा पिंकभिल्लाले एटलीले अल्लू अर्जुनलाई लिएर फिल्म बनाउन लागेको समचार प्रकाशित गरेको छ। ‘एटली र अल्लू अर्जुन पछिल्लो केही समयदेखि छलफलमा छन्। उनीहरुको छलफल सकारात्मक बनिरहेको छ। एटली २०२४को अन्तिम त्रैमासिकमा फिल्मको सुटिङ सुरु गर्न चाहान्छन्,’ स्रोतलाई उल्लेख गर्दै पिंकभिल्लाले लेखेको छ, ‘एटली र अल्लू अर्जुन नयाँ प्रोजेक्टलाई लिएर निकै उत्साही छन्। तर अहिलेसम्म कागजीरुपमा सम्झौता भइसकेको छैन। जनवरीको अन्तिमसम्ममा सहमति हुन सक्छ।’
अल्लू अर्जुन अहिले ‘पुष्पा २’मा व्यस्त छन्। यो फिल्मपछि उनले एटलीको फिल्ममा काम गर्न सक्ने समचारमा उल्लेख छ। त्यसो त पछिल्लो २ महिनामा एटलीले अल्लू अर्जुनसँगै सलमान खानसँग पनि भेटेका छन्। तर नतिजा निस्किएको छैन। उनले शाहरुखसँग पनि भेटेका छन्। तर एटली र शाहरुखबीच पनि तत्कालै सहकार्य सम्भव देखिँदैन। यस्तै एटलीले रणवीर कपूर र ऋतिक रोशानसँग पनि भेटेका छन्। अबको एक महिना भित्रमा एटलीको आगामी फिल्म र हिरोका बारेमा पत्ता लाग्ने बताइएको छ।


