काठमाडौँ- इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेनलाई मृत्यु दण्ड दिएको १७ वर्ष पुगेको छ। सन् २००६ डिसेम्बर ३० मा इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेनलाई मुत्युदण्ड दिइएको थियो। इराकको डुजेल गाउँमा भएको नरसंहारमा दोषी ठहर गर्दै २००६ नोभेम्बर ५ मा विशेष अदालतले हुसेनलाई मृत्युदण्डको सजाय सुनाएको थियो।
डुजेल घटनामा १४८ जनाको हत्या भएको थियो। हुसेन १९७९ देखि २००३ सम्म इराकका राष्ट्रपति थिए। उनले १९७९ देखि १९९१ सम्म र १९९४ देखि २००३ सम्म प्रधानमन्त्रीको समेत जिम्मवारी निर्वाह गरेका थिए।
१९८० को दशकमा हुसेनको नेतृत्व अरब देशमा प्रभावशाली बन्दै गएका बेला छिमेकी राष्ट्र इरानमा इस्लामिक क्रान्ति सुरु भएको थियो। क्रान्तिलाई कमजोर बनाउन हुसेनले पश्चिमी इरानमा इराकी सेना तैनाथ गरेपछि २ देशबीच युद्ध सुरु भएको थियो।
जसका कारण १९८२ मा हुसेनलक्षित आत्मघाती आक्रमण गरिएको थियो। आक्रमण विफल भएपछि उनले इरान समर्थित डुजेल इस्लामिक दावा पार्टीका विद्रोहीहरूको पकड क्षेत्र डुजेलमा हुसेनले नरसंहार सुरु गरेका थिए।


