तिलोत्तमा- राष्ट्रपति रामचन्द्र पौडेलले जीतगढी किल्ला राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थल भएको बताएका छन्। उनले ठूला साम्राज्यसँग नेपाली सौर्य र कुटनीतिक चातुर्यताले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको रुपमा रहेको जीतगढी जितको निशानी भएको बताए।
शुक्रबार ऐतिहासिक जीतगढी किल्ला नेपाली सेनाद्धारा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रममा राष्ट्रपति पौडेलले जीतगढीलाई मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटनको विकासमा समेत योगदान दिने बताए।
जीतगढीलाई बृहत् बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र, नेपाली वीरताको ऐतिहासिक केन्द्रका रुपमा बिकास गर्न त्यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको उनले जनाए।
‘यसका लागि अब बुटवल उपमहानगरपालिकाको विशेष भूमिका रहनुपर्छ,’ उनले भने, ‘किल्लाको समयानुकुल प्रचार प्रसार र प्रवर्द्धन गर्दै पर्यटकीय स्थल बनाउन उपमहानगरपालिकाले योजनाबद्ध रुपमा काम अगाडि बढाएकोमा खुशी लागेको छ।’
राष्ट्रपति पौडेलले सार्वभौम र स्वभिमानी नेपाली भनी गर्व गर्न सक्ने आजको दिन वीर नेपाली सेनाले इतिहासमा देखाएको वीरता र सौर्यकै परिणाम भएको बताए।


