काठमाडौं- टी-सिरिज भारतीय सिनेमाको सबैभन्दा ठूलो नाम मध्येको एक हो। टी-सिरिज एक संगीत कम्पनीका रुपमा सुरु भएको थियो। विस्तारै कम्पनीले फिल्म निर्माण थाल्यो। टी-सिरिजलाई यो मुकाममा ल्याउने व्यक्तिको नाम हो-भुषणकुमार। उनका पिता गुलशन कुमारको असामयिक निधनका कारण १९ वर्षको उमेरमा भुषणले कम्पनीको बागडोर सम्हालेका थिए।
त्यसयता उनले साहसपूर्वक कम्पनीलाई नयाँ उचाईमा पुर्याए। हालै उनी भेराइटी-५०० सूचीमा समावेश भएका छन्। यो सूचीमा विश्वमा मनोरञ्जनका क्षेत्रका टम क्रुज, टिम कुक, शाहरुख खान, सत्या नडेला, लियोनार्दो डिकेप्रियो, मुकेश अम्बानी, मार्क जुकरबर्ग, सुन्दर पिचाई, स्टिभन स्पिलबर्ग र एलन मस्क जस्ता व्यक्ति पनि समावेश छन्।
आफ्ना सुरुवाती चुनौतीका बारेमा कुरा गर्दै भुषण भन्छन्, ‘संगीत र डिजिटल प्लेटफर्ममा आफ्नो नेतृत्व स्थापित गरेपछि मैले सिनेमा जगतमा राम्रा ‘क्रियटिभ माइन्ड’ भएका कथाकारसँग काम गर्न कडा मेहनत गरेँ। हामीलाई टी-सिरिज स्टुडियोको व्यवसायको विकासप्रति बहुत गर्व लाग्छ। किनकि हामीले विभिन्न शैलीमा कथा सनुिरहेका छौं र विभिन क्षेत्रका ‘क्रियटिभ माइन्ड’हरुसँग काम गरिरहेका छौं।’
उनी थप्छन्, ‘टी-सिरिज संगीत र डिजिटल क्षेत्रमा अग्रणी कम्पनी हो। यसले भारतभरका सिनेमाप्रेमीको विश्वास हासिल गरेको छ। हामीसँग अग्रणी ओटीटी फ्लेटफर्म छ। किनकि हामी भारतको विविधतासँग मेल खाने खालका कथा पेश गर्छौं। आगामी वर्षमा हामी कम्पनीलाई थप बलियो बनाउनेछौं।’
यी पाँच रणनीति, जसले टी-सिरिजलाई सफलताको सिँढी चढायो
संगीतमा बलियो नेतृत्व
कम्पनीको स्थापना गुलशन कुमारले गरेका थिए। उनले हिन्दी बाहेक अन्य भाषामा समेत संगीतको काम गरेका थिए। उनले भक्ति संगीतको पनि सुरुवात गरेका थिए।
हिन्दीका साथै अन्य क्षेत्रीय भाषा र सुफी शैलीमा पनि टी-सिरिजले कदम राखेको थियो। भुषण भन्छन्, ‘अहिले टी-सिरिज चार्ट बस्टिङ सिंगल्समा ध्यान केन्द्रीत गरिरहेको छ। जो हरेक ठाउँमा सन्न सकियोस्। मेरा लागि हरेक चुनौति सिक्ने र कार्यान्वयन गर्ने मौका थिए। संगीत कम्पनी स्थापित गरेर दायरा फराकिलो पार्नु थियो। मैले सबै जटिलता पार गर्न सकेँ।’
डिजिटल तरिका अपनाउनु
टी-सिरिज डिजिटल तरिका अपनाउने अग्रणी कम्पनी मध्ये एक थियो। कम्पनीको खासगरी यूट्युब, मेटा र अन्य ओटीटी प्लेटफर्ममा राम्रो पकड छ। अनलाइन मार्केटिङ र प्रचारमा पनि टी-सिरिज एककदम अघि छ। टी-सिरिज डिजिटलका अध्यक्ष निरज कल्याणको नेतृत्वमा कम्पनीले अझ फड्को मारेको छ। युट्यूबमा २७५ मिलियन सस्क्राइबरका साथ टी-सिरिज विश्वको सबैभन्दा ठूलो यूट्युब च्यानल नेटवर्क बनेको छ। टी-सिरिजले हंगामा डिजिटल एन्टरटेन्मेट र डिजिटल फुटप्रिन्टको सहयोगमा भारतीय दर्शक माझ डिजिटल माध्यमको पहुँच पुर्याउन सफल भएको छ।
प्रोडक्सनमा ठूलो योगदान
डिजिटल क्षेत्रमा कदम राख्ने पहिलो कम्पनी टी-सिरिजले पछिल्ला वर्षमा संगीत देखि प्रोडक्सनसम्ममा विविधता ल्याएको छ। आजका दिनमा यो कम्पनीलाई सबैभन्दा ठूलो फिल्म प्रोडक्सन हाउस मानिन्छ। भुषण भन्छन्, ‘हाम्रा लागि सबैभन्दा पहिलो कुरा सामग्री हो। हाम्रा लागि सामग्री नै सबथोक हो। मार्केटिङको कुरा गर्ने हो भने एक प्रभावशाली टिजर बनाउनु सुरुवाती विन्दु हो। हामी एक टिजर र एक ट्रेलर बनाउँछौं। जसले दर्शकलाई आकर्षित गर्छ।’
‘भुलभुलैया २’ जस्ता सुपर हिट र २०२३ मा भारतमा सबैभन्दा धेरै कमाइ गर्ने दोस्रो फिल्म ‘एनिमल’ जस्ता फिल्म निर्माण गरेर टी-सिरिजले बक्स अफिस कलेक्सनमा महत्वपूर्ण योगदान दिइरहेको छ।
द फ्रेन्चाइज किङ
टी-सिरिजले आफूलाई ‘फ्रेन्चाइज किङ’कारुपमा अघि बढिरहेको छ। ‘भुल भुलैया २’, ‘रेड २’, ‘दे दे प्यार दे’, ‘आशिकी’ र ‘एनिमल पार्क’ जस्ता फ्रेन्चाइजी फिल्मको निर्माण र विकासमा टी-सिरिज केन्द्रीत देखिन्छ।
सबैभन्दा नाफा कमाएको कम्पनी
संगीत र फिल्म निर्माणमा आफ्नो विशाल प्रभाव कायम राखेको टी-सिरिज भारतीय सिनेमा जगतमा अहिलेसम्मको सबैभन्दा धेरै नाफा कमाउने कम्पनी हो। हरेक वर्ष यसको आम्दानी बढिरहेको छ। यो ऋणमुक्त कम्पनी हो। यसको शेयर मूल्य ६ विलियन डलर भन्दा बढी पुगेको छ। सोही कारण यो कम्पनी भारतमा मात्रै नभएर पुरै एसियाको सबैभन्दा ठूलो मिडिया र मनोरञ्जन कम्पनी मध्येको एक बनेको छ।
(बलिउड हंगामाबाट भावानूवाद गरिएको।)


