काठमाडौँ- उपत्यका अपराध अनुसन्धान कार्यालयले ४७ किलो चाँदी बरामद गरी ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कामेश्वर शाह, सुमनकुमार सरार्फ र मनिष सरार्फ छन्।
कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उपत्यकाको भोटेबहाल, कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छली गरी बिलबिजकविना चाँदीका गरगहनाहरु राखेर बिक्री गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न ठाउँमा छापा हानेको थियो।
त्यसक्रममा चाँदीका गहनासहित उनीहरु पक्राउ परेको रेग्मीले बताए।
पक्राउ परेकाहरुलाई राजश्व छलीसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।


